काठमाडौँ उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम

काठमाडौँ, ११ असोजः बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । 

काठमाडौँ उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खुखोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका प्रवक्ता रविन कार्कीले राससलाई जानकारी दिनुभयो । यसैगरी दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको उहाँले सुनाउनुभयो । 

दक्षिणकालीबाट फाखेल हुँदै हेटाँैडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ । नागढुङ्गाबाट सिस्नेखोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ । 

यसैगरी स्वयम्भूमा गुडिरहेको बाइकसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले वेपत्ता बनाएको छ । बाइक भेटिएपनि मानिस अझै वेपत्ता भइरहेको जनाइएको छ । बालाजु नयाँ बसपार्क क्षेत्रमा बाइक खोलाले बगाएको छ । मानिस भने सामान्य अस्थामा छन् ।