श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्ष पुगे लुम्बिनी

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले खादा लगाएर पूर्वराष्ट्रपति  राजापाक्षलाई स्वागत गरेका हुन् ।

उपाध्यक्ष डा.लामाले  राजापाक्षलाई स्वागत गर्दै श्रीलंकासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीले त्यो सम्बन्ध अझ प्रगाढ बनाएको समेत बताए ।उपाध्यक्ष लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध विमानस्थलमा श्रीलङ्काबाट नियमित उडानका लागि समेत अनुरोध गरे । राजापाक्षेसँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिराना समेत सहभागी थिए ।

स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षले मायादेवी मन्दिरको भ्रमण गरे । श्रीलंकनहरु लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । परिवारसहित आएका राजापाक्षले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेका थिए ।

कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी र मायादेवी मन्दिर र लुम्बिनीको महत्वबारे विफ्रिङ गरेका थिए ।