विविधतापूर्ण संस्कृति नै हाम्रो पहिचान होः मन्त्री पाण्डे

काठमाडौँ, ११ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृति नै नेपालीको पहिचान रहेको बताउनुभएको छ ।

विश्व पर्यटन दिवसका अवसरमा आयोजित राष्ट्रिय सांस्कृतिक महोत्सवमा उहाँले भन्नुभयो, “हाम्रो देशको भूगोल त्यति ठूलो छैन तर संस्कृतिमा विविधतामा छ । विविधतापूर्ण संस्कृति नै हाम्रो पहिचान हो । संस्कृति सामाजको प्राण तत्व हो । भौतिक विकाससँग सांस्कृतिक विकास पनि गर्नुपर्छ ।” मन्त्री पाण्डेले लोपन्मुख अवस्थामा रहेका विभिन्न जातजातिका नृत्यलाई एकै ठाउँमा कोशेलीका रुपमा पस्किएकोमा खुसी व्यक्त गर्नुभयो । 

राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा संस्थाका  संस्थापक सदस्य दिप डाँगीले भन्नुभयो, “प्राकृतिक सम्पदालाई मात्र अघि सारेर पर्यटन प्रवर्द्धन हुन सक्दैन । यति धेरै साँस्कृतिक विविधता छ त्यसलाई व्यावसायिक रुपमा जोडेर लानुपर्छ । संस्कृति, भाषा, शैली, सभ्यतालाई जोगाउन सकेनौँ भने अस्तित्व नै खतरामा हुन सक्छ ।”

कार्यक्रममा विभिन्न जातजातिका लोकनृत्य प्रस्तुत गरिएको थियो । कोशी प्रदेशको सोलुखुम्बुको थुलुङ सामा राईको तोशी नाच, कर्णाली प्रदेशको जाजरकोट जिल्लाको खाँडो नाच, मधेस प्रदेशको पमरिया नाच कलाकारले प्रस्तुत गरेका थिए । 
यसैगरी लुम्बिनी प्रदेशको रोल्पाबाट पैसेरु नाच, सुदूरपश्चिमको दार्चुलाबाट छलिया नाच, गण्डकी प्रदेश म्याग्दीबाट पुन समुदायको पुख्र्यौली नाच, बागमती प्रदेशबाट तामाङ समुदायको म्हेन्दोमाया नाच, सुदूरपश्चिम बझाङको भारी खेललगायत झरझरी नाच, होली नाच, सिंगारु नाचहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो ।