वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो ।  संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’

https://barnanmedia.com/news/detail/196016/ 

न्याय परिषद बैठक जारी, बारको घेराउ पानीले प्रभावित 

न्याय परिषद् बैठक बसिरहेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बैठक बसिरहेको छ । उच्च अदालत र सर्वोच्च अदालतमा एकसाथ न्यायाधीश नियुक्ति गर्न बैठक बसेको हो । न्यायाधीश नियुक्तिको विरोधमा रहेको नेपाल बार एसोसिएसनले न्याय परिषद घेराउ गर्ने भने पनि पानीका कारण प्रभावित भएको छ । बार पदाधिकारीहरू घेराउका लागि जान सकेका छैनन् । त्यसो त बारभित्र पनि नियुक्तिको विरोध गर्ने कि समर्थन भन्नेमा पनि विवाद देखिएको छ । वरिष्ठ अधिवक्ता उपाधिको वितरणले पनि बारभित्र विभाजन ल्याएको छ ।

https://barnanmedia.com/news/detail/196085/

सर्वाेच्च अदालतकाे न्यायाधीशमा सिफारिस गरेका उच्च अदालतका मुख्य न्यायाधीश निरौंला र पाण्डेप्रति नेपाल बार एशोसिएशनकाे असहमति

सर्वाेच्च अदालतका न्यायाधीशको रुपमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौंला र नित्यानन्द पाण्डेको सिफारिसप्रति नेपाल बार एशोसिएशनले असहमति जनाएको छ ।  असहमति जनाउंदै आन्दोजन जारी रहेको पनि केन्द्रिय बारले जनाएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको न्याय परिषद्ले बारको आन्दोलनका बाबजुद दुई मुख्य न्यायाधीशलाई सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेका थिए । अवकाश हुनै लागेका प्रधान न्यायाधीशले बारको सरोकार सम्बोधन नगरी गरेको सिफारिस आफूलाई मान्य नभएको बारले वक्तव्यमार्फत जनाएको छ ।

फिल्म ‘जेरी अन टप’ माग्ने बुढा अनुबन्धित

सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्म ‘जेरी अन टप’ केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएका छन्। शुक्रबार निर्माण टिम र घिमिरेबीच सम्झौता भएको हो। केदार फिल्मको मुख्य भूमिकाका लागि देखिने निर्माता सरोज न्यौपानेले जानकारी दिए। यसअघि फिल्मको मुख्य भूमिकाका लागि अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त अनुबन्धित भइसकेका छन्।  निर्माता न्यौपानेले नेपाली फिल्ममा हालसम्म पर्दामा नदेखिएको कथावस्तुमा आफ्नो फिल्म निर्माण हुन लागेको भन्दै पछिल्लोक्रममा नेपाली दर्शकले रुचाउँदै आएको परिवेशमा फिल्म निर्माण हुने बताए। ‘ 

वनस्थलीमा मोटरसाइकल नाली खस्याे, चालक बेपत्ता

 काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।खोलाले बगाएको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकल र चालकलाई खाेलाले बगाएकाेमा बाइकलाई खाेलाबाट निकालिएकाे र चालक बेपत्ता भएका हुन् ।

त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान भोलि बिहानसम्म स्थगित

नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ 

पछिल्लो १२ घण्टा कहाँ कति पर्याे पानि ?

पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताए।

‘समृद्धिको आधार पर्यटन र पूर्वाधार’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार हुने बताउनुभएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणासभा’ को उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।  मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका पर्यटक नेपाल भित्र्याउन सके राष्ट्रिय पुँजीको निर्माण हुने उल्लेख गर्नुहुँदै विसं २०८२ लाई प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरेको जानकारी दिनुभयो ।

प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले ल्याए बजारमा नयाँ गीत(भिडियाेसहित)

हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैंको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले नयाँ गीत बजारमा ल्याएका छन् । उनले लेखेको ‘दशैं रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो ।  गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्स रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् । दशैंको रौनक देखिने गीतमा तीनै जना टीका र जमरा लगाएर छमछमी नाँचेका छन् ।

तीन ब्याट्सम्यानको शतकमा न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलङ्का

 श्रीलङ्काले न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा ६०२ रन बनाएर इनिङ्स घोषणा गरेको छ। टेस्टको दोस्रो दिन श्रीलङ्काका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाएपछि इनिङ्स घोषणा गरेको हो।श्रीलङ्काका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए। श्रीलङ्काका लागि आठौँ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन्। त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए।

आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु

 काठमाडौँमा आजदेखि चाडपर्वलक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले शुभारम्भ गर्नुभयो ।  प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर चाडपर्वलाई सुरक्षित बनाउन सकिनेमा जोड दिनुभयो । अभियानअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकलाई सम्मान कार्यक्रम र ‘नो भ्वाइलेसन, नो पेनाल्टी’ लेखिएका स्टिकर टासेर कार्यक्रम सुरु गरिएको हो । 

निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचनमा पराजित भएका पूर्वपदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी सङ्गठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो । कार्य विभाजनका क्रममा नेताहरुको योगदान र सक्षमताको आधारमा विभागीय प्रमुख तथा जनवर्गीय इन्चार्जको जिम्मेवारी दिने तयारी भएको हो । पार्टी सङ्गठन गतिशील बनाउन नेताहरुको कार्यविभाजन गरी पार्टीका विभागलाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका ईन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गरिने जनाइएको छ ।

खरिद मूल्यभन्दा झण्डै दुईसय प्रतिशत मूल्यमा जुत्ता र लत्ताकपडा बिक्री गर्ने एडिडास कम्पनीलाई दुईलााख जरिवाना

खरिद मूल्यभन्दा झण्डै दुईसय प्रतिशत मूल्य बढी राखेर जुत्ता र लत्ताकपडा बिक्री गर्ने ललितपुरको जावलाखेलस्थित एडिडास कम्पनीलाई दुईलााख जरिवाना गराइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय ललितपुर, उद्योग वाणिज्य कार्यालय लगायतको संयुक्त बजार अनुगमन टोलीले १५ हजार पर्ने जुत्तालाई झण्डै चालिस हजारमा बिक्री गरेको फेला पारेपछि जरिवाना गराएको हो। जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत प्रदीप राईका अनुसार, व्यापारीले खरिद मूल्यको २० प्रतिशतसम्म मूल्य राख्न पाउने भएपनि एडिडासले १ सय ८० प्रतिशत सम्म फाइदा राखेर बेचेको भेटिएको हो।

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

 झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।  उहाँका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ । “पानी निरन्तर परिरहेको छ”, उहाँले भन्नुभयो, “कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढदै गएको छ ।” वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताउनुभयो । 

अमेजन प्राइममा सुनिल थापाको डेब्यु, अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा ‘डेब्यु’ गर्ने
 

 नेपाली सिने क्षेत्रका चर्चित अभिनेता सुनिल थापाले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा ‘डेब्यु’ गर्ने भएका छन् । थापाले भारतीय वेब सिरिज ‘द फ्यामिली म्यान’ मार्फत अमेजन प्राइममा डेब्यु गर्न लागेका हुन्  यसबारे थापा स्वयंले फेसबुकमा एक पोस्ट शेयर गर्दै जानकारी दिएका छन् । पोस्टमा उनले लेखेका छन्, ‘मनोज बाजपेयी र दलिप ताहिलको साथमा ‘द फेमिली म्यान’का लागि नागाल्याण्डमा भएको शुटिङ अविश्वसनीय रह्यो । म मेरो नागामेस टिचर टियालाई पनि धन्यवाद दिन चाहन्छु । माया र साथको लागि सबैलाई धन्यवाद ।”

राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ  :  मुख्य सल्लाहकार रिमाल 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ । महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको सम्बोधन तथा द्विपक्षीय भेटवार्तामा व्यक्त विश्वशान्ति, मानव–पृथ्वीको रक्षा, जलवायु न्याय, गरिबी निवारण, लोकतन्त्र र आर्थिक रूपान्तरणका यात्रामा नेपालको प्रयासबारे अवगत भएको छ । विश्वशान्ति, जलवायु परिवर्तन र विकासबारे अन्तर्राष्ट्रिय समुदायसँगका अपेक्षाबारे नेपालले स्पष्ट धारणा राखेको छ । प्रस्तुत छ, राष्ट्रसङ्घको भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसँग राष्ट्रिय समाचार समिति (रासस) का विशेष प्रतिनिधि प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित अंशः 

६० किलो सुन प्रकरण : १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चकाे आदेश 

सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरूको निवेदनमा शुक्रबार न्यायाधीशद्वय श्रेष्ठ र ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।​​​​​​​सर्वोच्चको पेसी सूचीको कैफियतमा अभियुक्तहरूको तल्ला तहका ‘आदेश बदर, धरौटी माग गर्ने’ जनाउ गरिएको छ । सर्वोच्चका प्रवक्ता अचुतप्रसाद कोइकेलले आदेश नआइसकेकाले धरौटी रकम यकिन भइनसकेको बताए ।

प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन् । केही दिनपछि अवकासमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको न्याय परिषद्को शुक्रबार (आज) बसेको बैठकले सर्वोच्च अदालतमा २ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेलगत्तै उनले सो आरोप लगाएका हुन् । काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले न्यायाधीशको नियुक्ति आफूले लिएको हिसाबकिताब मिलानका लागि गरिएको भनेर आरोप लगाएको उल्लेख गर्दै सकिन्छ भने आफूलाई जेल चलान गर्न पनि प्रधानन्यायाधीश श्रेष्ठलाई चेतावनी दिए ।

डुब्याे सुकुम्बासी बस्ती

बागमती नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ। शुक्रबार दिनभर परेको अविरल वर्षाले बढेको नदीको जलसतह बस्तीमा पसेको हो।  बागमती नदी कनिारका थापाथली, टेकु, बल्खु लगायतका क्षेत्रका सुकुम्बासी बस्ती पानी पसेपछि जलमग्न भएको छ। देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा भइरहेको छ। शुक्रबार दिउँसो साढे २ बजेदेखि जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ।जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ। 

काँग्रेस शिक्षा विभागमा १० सदस्य थपिए

नेपाली काँग्रेसको शिक्षा विभागमा सदस्य थपिएका छन् । पार्टीको केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहनुभएको विभागमा सभापति शेरबहादुर देउवाले आज १० जनालाई मनोनीत गर्नुभएको हो ।  उहाँले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम १० जनालाई सदस्यमा मनोनयन गर्नुभएको पार्टीका कार्यवाहक मुख्यसचिव डा.प्रदिप पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  मनोनयन हुनेमा सिन्धुलीका प्रा.डा. कमलदीप ढकाल, खोटाङका राजकुमार आचार्य, महोत्तरीकी पूजा पासवास, धादिङका हरिसिंह केसी, काठमाडौंका त्रिविक्रम पाण्डे र राजन श्रेष्ठ, गोरखाका किरण श्रेष्ठ, दाङका लालमणि भण्डारी, दैलेखका खेमराज केसी र कैलालीका तारामान रावल रहेका छन् ।​​​​​​​