पर्यटक बसबाट आउने पहिलो तीनजनालाई निशुःल्क बसोबास र खानपान

 पैँतालिसौँ विश्व पर्यटन दिवसका दिन आज स्थलमार्ग भइ पोखरा आएका तीन पर्यटकलाई पोखरामा विशेष सम्मानसहित स्वागत गरिएको छ । पोखराको अम्मटमा आयोजित एक समारोहबीच पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका तीन जना विदेशी पर्यटकलाई सम्मान गरिएको हो ।  

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ती पर्यटकलाई सङ्घले निःशुल्क बसोबास र खानपानको व्यवस्था पुरस्कार स्वरुप उपलब्ध गराइएको जानकारी दिनुुभयो । 

अतिथि रिसोर्ट एण्ड स्पाः, ग्लेसियर होटल र होटल क्राउन हिमालयजले सङ्घका तर्फबाट ती पर्यटकलाई बसोबास र खानपानको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुुभयो । पर्यटन दिवसका अवसरमा पोखरा आउने सबै पर्यटकलाई सङ्घले होटलका कोठाको प्रकाशित दररेटमा २० प्रतिशत छुटको  व्यवस्था गरेको थियो । हवाईमार्गबाट पोखरा आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम भने प्रतिकूल मौसमका कारण प्रभावित भएको छ । 

स्थलमार्गबाट आउने पर्यटकलाई राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्कमा बाजागाजासहित स्वागत गरिएको हो । पोखरा पर्यटन परिषद्को अगुवाइमा तय भएका पर्यटन दिवसका चार दिवसीय कार्यक्रमअन्तर्गत, रेवान पोखराद्वारा मिनी सडक महोत्सव, भिटोफ गण्डकीद्वारा घरबास कार्यक्रम, परिषद्द्वारा टक सो, नारा पोखराद्वारा जलयात्रा, एनटीभीएद्वारा पर्यटक सवारीको ¥याली, टान गण्डकीद्वारा पदयात्रा, नाट्टा गण्डकीद्वारा रक्तदान तथा पर्यटकको स्वागत र पर्यटन मन्त्रालय गण्डकीलगायत विभिन्न संघसंस्थाबाट आरती तथा पर्वतीय दौड जस्ता कार्यक्रम समेटिएका छन् ।

पर्यटन र शान्ति भन्ने मूल नारासाथ आयोजित पर्यटन दिवसका कार्यक्रम शनिबार सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुुभयो ।