खरिद मूल्यभन्दा झण्डै दुईसय प्रतिशत मूल्यमा जुत्ता र लत्ताकपडा बिक्री गर्ने एडिडास कम्पनीलाई दुईलााख जरिवाना

खरिद मूल्यभन्दा झण्डै दुईसय प्रतिशत मूल्य बढी राखेर जुत्ता र लत्ताकपडा बिक्री गर्ने ललितपुरको जावलाखेलस्थित एडिडास कम्पनीलाई दुईलााख जरिवाना गराइएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय ललितपुर, उद्योग वाणिज्य कार्यालय लगायतको संयुक्त बजार अनुगमन टोलीले १५ हजार पर्ने जुत्तालाई झण्डै चालिस हजारमा बिक्री गरेको फेला पारेपछि जरिवाना गराएको हो।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत प्रदीप राईका अनुसार, व्यापारीले खरिद मूल्यको २० प्रतिशतसम्म मूल्य राख्न पाउने भएपनि एडिडासले १ सय ८० प्रतिशत सम्म फाइदा राखेर बेचेको भेटिएको हो।

‘अचाक्ली मूल्य राखेर सेवाग्राहीलाई ठगी गरेको पाइएपछि २ लाख जरिवाना गराइएको छ,’ राईले भने, ‘एडिडासले जुत्ता, ट्राउजर आइटममा पनि धेरै बढीमा बेच्ने गरेको देखियो।’ यसैगरी एडिडाससँगै रहेको पेञ्जिया स्टोरलाई पनि २० हजार जरिवाना गरिएको उनले बताए। ‘लेडिज सामाग्री बेच्ने सो स्टोरले व्यापार अनुमतिपत्र नवीकरण नगरेकोले जरिवाना गराइएको हो,’ राईले थपे।

दसैँ लाग्न थालेपछि संयुक्त बजार अनुगमन सक्रिय भएको छ। उसले दैनिक बजार अनुगमन गरिरहेको छ।