६० किलो सुन प्रकरण : १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरूको निवेदनमा शुक्रबार न्यायाधीशद्वय श्रेष्ठ र ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चको पेसी सूचीको कैफियतमा अभियुक्तहरूको तल्ला तहका ‘आदेश बदर, धरौटी माग गर्ने’ जनाउ गरिएको छ । सर्वोच्चका प्रवक्ता अचुतप्रसाद कोइकेलले आदेश नआइसकेकाले धरौटी रकम यकिन भइनसकेको बताए ।

६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० असोज १ गते मुद्दा दायर गरेको थियो । चिनियाँ मूलका नागरिक दावाजिन वाङलाई मुख्य अभियुक्त बनाइएको मुद्दामा २९ जनालाई विपक्षी बनाइएको थियो । उनीहरूविरुद्ध संगठित अपराधसहित पाँचवटा अभियाृग लगाइएको छ । 

करिब तीन अर्ब ५० करोड ३१ लाख रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ । उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा छ ।

धरौटी सुविधा पाउने अभियुक्तहरूमा कुमार ढकाल, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ र शिवकुमार सर्राफ छन् ।