आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी

चीनले आफ्नो सबैभन्दा नयाँ आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको घटनालाई ढाकछोप गर्न खोजेको अमेरिकाका एक वरिष्ठ रक्षा अधिकारीले बिहीबार बताएका छन् ।

यस वर्षको सुरुमा एउटा पानीजहाज मर्मत गर्ने स्थान (शिपयार्ड)मा डुबेको पहिलो रिपोर्ट द वाल स्ट्रिट जर्नलले गरेको थियो । उक्त पत्रिकाले सेटेलाइटबाट लिइएका तस्वीरमा पछि यसलाई बचाउन ठूलो फ्लोटिंग क्रेनहरू आएको देखिएको जनाएको थियो ।
 
बेइजिङको पिपुल्स लिबरेशन आर्मी नेभीलाई उद्धृत गर्दै वरिष्ठ अमेरिकी रक्षा अधिकारीले नाम नबताउने शर्तमा भने, “पीएलए नौसेनाले आफ्नो नयाँ आणविक शक्तिसम्पन्न पनडुब्बी सामुद्रिक तटमा डुबेको तथ्यलाई लुकाउन खोज्नु कुनै आश्चर्यको कुरा होइन।”

“प्रशिक्षणको मापदण्ड र उपकरणको गुणस्तरका बारेमा स्पष्ट प्रश्नका अतिरिक्त, यो घटनाले पीएलएको आन्तरिक जवाफदेहीता र चीनको रक्षा उद्योगको निगरानीको बारेमा गहिरो प्रश्न उठाएको छ,” ती अधिकारीले भने।

यो घटना आफ्नो नौसेनालाई आधुनिकीकरण गर्न खोजिरहेका चीनका लागि एक धक्का हो । उक्त जहाजमा ‘फ्रिगेट’ र ‘कार्वेट’जस्ता धेरै साना युद्धपोतहरू रहेका दावी गरिएको छ।

शुक्रबार उक्त समाचारबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयले पनडुब्बीसँग सम्बन्धित घटनाबारे आफूलाई ‘जानकारी नभएको’ बताएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक शक्तिसम्पन्न पनडुब्बी उपलब्ध गराउन काम गरिरहेका छन् । यसले समुद्रमुनिका उन्नत जहाजहरू भएका देशहरूको सम्बन्धलाई विस्तार गर्नेछ । 

संयुक्त रूपमा उन्नत युद्ध लड्ने क्षमताहरूको विकास गर्ने परिकल्पना गरेको पश्चिमी राष्ट्रहरूको यस प्रयासको बेइजिङले आलोचना गर्दै आएको छ। उनीहरूले प्रशान्त क्षेत्रमा चिनियाँ सैन्य महत्वाकाङ्क्षाहरूको रणनीतिक जवाफ दिन उक्त परिकल्पना गरेका चीनको बुझाइ छ ।