दसैं मनाउन घर फर्किने क्रममा नदीमा खसेर युवक बेपत्ता

बैतडीमा दसैं मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चाैडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रविन्द्र केसीले जानकारी दिए ।

भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको डीआईजी केसीले बताए ।

उनका अनुसार झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए । नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ । धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ ।

नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ तर उनको अवस्था अहिलेसम्म अज्ञात छ । भारतमा रोजगारी गर्दै आएका धामी दसैं मनाउन घर फर्किरहेका थिए ।