रास्वपाको अर्को टोली पनि चीनबाट फर्कियाे

चीनको १० दिने भ्रमणका लागि शनिबार राति काठमाडौंबाट ग्वाङ्चौ उडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १४ सदस्यीय टोलीका बाँकी छ जना पनि फिर्ता भएका छन् । 

एयर चाइनाको उडानबाट सिचुआन प्रान्तको छन्तु हुँदै उनीहरु आज बिहान काठमाडौं आइपुगेका हुन् । रास्वपाका नेताहरु चीन गएको भोलिपल्टै सभापति रवि लामिछाने सहकारी काण्डमा समातिने परिस्थिति बन्दै गएपछि फिर्ता बोलाइएकोमा उपसभापति स्वर्णिम वाग्लेसहित ८ जना हिजो फर्किएका थिए । 

आज फर्किनेहरुमा सांसद तथा विदेश विभाग प्रमुख शिशिर खनाल, अर्का सांसदद्वय असिम शाह र शिव नेपाली तथा  केन्द्रीय सदस्यहरु प्रकाश बिष्ट, निशा मेहता र खुश्बु सरकार श्रेष्ठ छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा ग्वाङ्चौ हुँदै बेइजिङ गएको टोलीलाई स्वयम् लामिछानेको आदेशमा आइतबार राति बाटोबाटै फर्कन लगाइएको खबर बाहिरिएको थियो । तर, उनीहरु चार दिन ढिलो फर्किएका हुन् । 

खनाल रास्वपाका तर्फबाट संसदीय छानविन विशेष समितिका सदस्यसमेत हुन् । गोर्खा मिडिया नेटवर्क प्रालिमा भएको अपचलनमा कम्पनीका अध्यक्ष जीबी राई, तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने, उपाध्यक्ष छविलाल जोशी र सञ्चालक कुमार रम्तेललाई प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस गरिएको समितिको प्रतिवेदनमा उनले पनि हस्ताक्षर गरेका छन् । 

सोहीबमोजिम पूर्वडिआइजी छविलाल आइतबार समातिएपछि रवि पनि पक्राउ पर्ने डरले रास्वपामा आतंक फैलिएको छ । त्यसैले विदेश भ्रमणमा रहेका नेताहरुलाई रातारात फर्काइए पनि शुक्रबारसम्म उनी पक्राउ परेका छैनन् ।