ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरी नागरिक एपमा नयाँ अपडेट

नागरिक एपमा नयाँ अपडेट आएको छ । बिहीबार आएको २.०.२८ भर्सनको अपडेटमा ड्राइभिङ लाइसेन्स साथमा बोक्नुपर्ने बाध्यता हटाउने सुविधा थपिएको हो । 

आईफोन तथा अन्य आईओएस डिभाइसहरूका लागि भने यो अपडेट उपलब्ध हुन केही दिन लाग्ने बताइएको छ । यद्यपि गुगल प्ले स्टोरमा नयाँ अपडेट आएसँगै केही प्रहरी युनिटहरूले यसको टेस्टिङ समेत सुरु गरिसकेको स्रोतले बतायो ।

"केही दिन पाइलटिङको रूपमा प्रयोग गरेर आउन सक्ने प्राविधिक समस्याहरू यकिन गरी समाधान गर्ने काम हुन्छ," स्रोतले टेकपानासँग भन्यो, "त्यसपछि प्रधानमन्त्री स्तरबाटै यसको औपचारिक घोषणा गर्ने तयारी छ ।"

नयाँ अपडेटसँगै नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) भित्र जाँदा तपाईंको सवारी चालक अनुमतिपत्रको फोटोसँगै एउटा क्यूआर कोड समेत देख्न सक्नु हुनेछ । सो क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले तपाईंले देखाएको लाइसेन्स आधिकारिक हो वा होइन भन्ने कुरा यकिन गर्न सक्नेछन् । 

नागरिक एपले यातायात व्यवस्था विभागको सिस्टममा रहेको रेकर्ड यसरी देखाउने गर्छ ।  यसका लागि नेपाल प्रहरीको एपमा क्यूआर स्क्यानर समेत राखिएको छ । सो स्क्यानरबाट मात्रै नागरिक एपको ड्राइभिङ लाइसेन्स सम्बन्धी क्यूआर स्क्यान गर्न सकिने बताइएको छ । 

नागरिक एपमा अपडेट आएसँगै साथमा सवारी चालक अनुमतिपत्र बोक्नु नपर्ने व्यवस्थाका लागि प्राविधिक तयारी पूरा भएको हो । तर सरकारी स्तरबाट यसको औपचारिक घोषणा हुन भने बाँकी नै छ । अहिले आएको नयाँ अपडेटसँगै देखिएका प्राविधिक कमीकमजोरी समेत हल गरी चाँडै नै ड्राइभिङ लाइसेन्सको हार्ड कपी बोक्नुपर्ने बाध्यताको अन्त्य गर्ने सरकारको योजना छ । 

यसो हुँदा सवारी चालकहरूले यातायात व्यवस्था विभाग तथा कार्यालयहरूबाट वर्षौंसम्म स्मार्ट लाइसेन्सको पर्खाईमा बस्नु समेत पर्ने छैन । यस बाहेक स्मार्ट लाइसेन्सको प्रिन्ट उपलब्ध गराउन नसकेको सरकारले राष्ट्रिय परिचयपत्रमै ड्राइभिङ लाइसेन्सको विवरण राख्ने र त्यसैबाट यकिन गर्ने प्रबन्ध समेत मिलाइरहेको छ ।