दशैँका लागि सुकिला नोट साट्न राष्ट्र बैंक पुग्न नपर्ने

दशैँका लागि पर्सिदेखि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि असोज २२ गतेसम्म सुकिला नोट साट्न सकिने जनाएको छ । 

बैंकको बालुवाटारस्थित मुद्रा व्यवस्थापन र बैंकिङ विभागसँगै प्रदेशस्थित कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नोट सटही गर्न सकिने छ । त्यस्तै, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । 

सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था एवम् राष्ट्र बैंकमा नोट सटही गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । बैंकले यसअघिका दशैँमा नयाँ नोट सटही गर्दै आएको थियो । तर, यो वर्ष नयाँ नोटको सट्टा सुकिला नोट बाँड्न लागिएको हो ।