प्रेमिका खर्चालु हुँदा कानुनका विद्यार्थी चोरीको आरोपमा पक्राउ

काठमाडौँ, ११ असोजः कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको हो । अब्दुल अलीम नाम गरेका ती युवक कानुन विषय लिएर अध्ययन गर्दै आएका थिए ।

प्रहरीलाई हलीमले दिएको जानकारी अनुसार उनकी प्रेमिका खर्चालु थिइन् । प्रेमिकाकै आवश्यकता पूरा गर्नका लागि आफूले चोरी गरेको उनले प्रहरीसमक्ष बताएका छन् । किनमेलका लागि मलमा जाने, क्लबमा गएर मोजमस्ती गर्ने, आइफोन चाहिने, फिल्म हेर्ने लगायतका खर्चालु माग प्रेमिकाले गरेपछि आफूले चोरी गरेको उनको भनाइ छ ।

एक साता अघि उनले गोमती नगरका तीन घरमा चोरीमा गरेको बताइएको छ । उनको साथबाट प्रहरीले गहना र नगदसमेत बरामद गरेको छ । सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनलाई पहिचान गरेर गिरफ्तार गरेको जनाइएको छ ।