वर्षाका कारण आन्तरिक उडान प्रभावित

देशका अधिकांश भूभागमा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ। वर्षाका कारण आन्तरिकतर्फको उडान प्रभावित भएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार शुक्रबार बिहानैदेखि आन्तरिकतर्फको उडान वर्षाका कारण प्रभावित भएको छ।

भिजिबिलिटी कमजोर भएका कारण जनकपुर, सिमरा, पोखरा धनगढी लगायत अधिकांश विमानस्थलहरूमा त्रिभुवन विमानस्थलबाट उडान हुन नसकेको प्रवक्ता शेर्पाले जानकारी दिए।

‘बाहिरका विमानस्थलहरूको भिजिबिलिटी कमजोर भएका कारण त्रिभुवन विमानस्थलबाट उडान हुन सकेको छैन,’ उनले भने। अन्तर्राष्ट्रिय उडान र अवतरण भने भइरहेको उनले जानकारी दिए।

उनले काठमाडौं विमानस्थलमा अहिलेको भिजिबिलिटी तीन हजार रहेको जानकारी दिए।

‘भिजिबिलिटी यति हुनुपर्छ भन्ने कुरा विमानस्थल अनुसार फरक हुन्छ। काठमाडौंमा चाहिँ भिजिबिलिटी १६ सय भयो भने पनि जहाज उडान र अवतरण गर्न सक्छन्,’ उनले भने।

उनले सामान्य पानी पर्दा उडान प्रभावित नहुने बताए। ‘एकदम ठूलो पानी परेर भिजिबिलिटी नै कमजोर भयो भने चाहिँ उडान र अवतरण प्रभावित हुन सक्छ,’ उनले भने।