आज सातै प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ, ११ असोजः आज सातै प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। देशभर मनसुनी वायुको प्रभावका साथै बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव पनि नेपाली आकाशमा छ।

सोही कारण आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका धेरै तथा कर्णाली र सुदूरपश्‍चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्‍चिम र कर्णालीका थोरै ठाउँमा मुसलधार वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा धेरै भारी वर्षाको पनि सम्भावना छ। देशभरको तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ।

आज राति कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, र लुम्बिनीका केही ठाउँमा धेरै भारी वर्षा हुने सम्भावना पनि छ।