स्टेशनका वाई-फाई नेटवर्कको साइबर हमलाबारे प्रहरीले अनुसन्धान गर्दै

बिहीबार, बेलायतका यातायात अधिकारी र प्रहरीले देशका ठूला रेलवे स्टेशनहरूमा सार्वजनिक वाईफाई नेटवर्कमा भएको “साइबर-सुरक्षा घटना” को अनुसन्धान गरिरहेको बताएका छन्।

समाचार संस्था एपीन्युजका अनुसार बुधबार साँझ म्यानचेस्टर पिकाडिली, बर्मिंघम न्यु स्ट्रिट, र ११ वटा लण्डनका स्टेशनहरूमा यात्रुहरूले वाईफाईमा लगइन गर्ने प्रयास गर्दा “वी लभ यू यू्रोप” भन्ने सन्देशसहित इस्लाम-विरोधी सन्देश देखिएको थियो जसमा विभिन्न आतंकवादी आक्रमणहरूको सूची थियो।

वाईफाई सेवा बन्द गरिएको र कुनै पनि यात्रुको डाटा चोरी नभएको स्टेशनहरू व्यवस्थापन गर्ने नेटवर्क रेलले जनाएको छ।“ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ,” नेटवर्क रेलले एउटा वक्तव्यमा जनाएको छ। “यो सेवा तेस्रो पक्षद्वारा प्रदान गरिएको हो र अनुसन्धानको क्रममा स्थगित गरिएको छ।”

यो घटना सेप्टेम्बरको सुरुवातमा लण्डनको यातायात प्रणालीमा भएको थप गम्भीर साइबर आक्रमणपछि आएको बताइएको छ। टीएफएलका अनुसार उक्त आक्रमणमा केही ग्राहकका नाम, सम्पर्क विवरण, र सम्भावित रूपमा बैंक खाता विवरणहरू बाहिर आएका थिए, र यसबारे राष्ट्रिय अपराध एजेन्सीले अनुसन्धान गरिरहेको छ।

उक्त आक्रमणका लागि एक १७ वर्षीय किशोरलाई पक्राउ गरी सोधपुछ गरिएको थियो तर उनलाई आरोप नलगाई धरौटीमा रिहा गरिएको छ।

केही साताहरू बितिसक्दा पनि यस आक्रमणको प्रभाव लण्डन यातायात कम्पनीका फिर्ता रकम र वास्तविक समयमा यातायात जानकारी प्रदान गर्नेलगायतका केही अनलाइन सेवाहरूमा देखिएको एपीन्युजले उल्लेख गरेको छ।