आणविक हतियार प्रयोगको विषयमा रुसी राष्ट्रपति पुटिनकाे नयाँ नियम प्रस्ताव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोगको पूर्वसर्तहरूका विषयमा आफ्नो सरकारले पुनर्विचार गरिरहेको बताएका छन्। यससम्बन्धमा उनले केही नियम बदल्न प्रस्ताव पनि गरेका छन्।

आणविक हतियार भएको मुलुकले समर्थन गरेको कुनै आणविक हतियार नभएको मुलुकबाट रुसमाथि गरिने आक्रमणलाई पनि ‘संयुक्त आक्रमण’ मानेर आणविक हतियार प्रयोग गर्न सकिने उनको भनाइ छ।बुधबार राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि पुटिनले सो प्रस्ताव अघि सारेका हुन्। उनका अनुसार रुसविरुद्ध गैरआणविक क्षेप्यास्त्र प्रहार भए पनि त्यसको जवाफ आणविक हतियारले दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

‘कुनै पनि आणविक हतियार नभएको मुलुकले आणविक हतियार भएको मुलुकको सहयोगमा रुसविरुद्ध आक्रमण गरे त्यसलाई रुसी संघमाथिको संयुक्त आक्रमण मानिने प्रस्ताव गरिएको छ,’ पुटिनले भने।युक्रेनले लामो दूरीका पश्चिमा क्षेप्यास्त्र प्रहार गर्ने अनुमति खोजिरहँदा पुटिनले यस्तो टिप्पणी गरेका हुन्। युक्रेन आणविक हतियार नभएको देश हो। तर, उसले आणविक हतियार भएका अमेरिकालगायत मुलुकबाट सहयोग प्राप्त गर्छ।

सोही एजेन्डा लिएर अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्दैछन्। युक्रेनले यो वर्ष रुसी भूमिभित्र आक्रमण गरेको छ। र, पश्चिमा क्षेप्यास्त्रद्वारा ऊ रुसी निसानामा प्रहार गर्न चाहन्छ।

पुटिनको टिप्पणीपछि युक्रेनले रुससँग आणविक ब्ल्याकमेलबाहेक अरु कुनै उपाय नरहेको टिप्पणी गरेको छ।