तपाईंहरू सडकको बाघ,म प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु : प्रचण्ड

‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलाल पूँजीवादीहरूले संख्याको बलमा आफू नेतृत्वको सरकार ढालेको बताएका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचारी र भूमिफियाविरुद्ध कसैले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरे ।

उनले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईँहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं । हामी जितको पक्षमा छौं ।’

उनले भ्रष्टाचारविरुद्ध अभियान छेडेपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने ठोकुवा गरे ।

दाहालले भने, ‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौं । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहिँ न कहिँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ । हामीले त्यसको घेरा तोड्दै आएका छौं ।’

उनले दुई ठूला दल मिलेर उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै सडकबाट प्रतिक्रियावादी शक्तिहरूलाई झुकाउन सकिने उनले बताए ।