मालदिभ्सको ऋणपत्र एसबीआईले किन्यो

 भारतले मालदिभ्सलाई ५ करोड अमेरिकी डलर बराबरको सहयोग गरेको छ । भारतको स्टेट बैंक अफ इण्डिया (एसबीआई) ले मालदिभ्सको ५ करोड डलर बराबरको सरकारी ऋणपत्र खरिद गरेर सहयोगको हात अघि बढाएको हो ।

मालदिभ्सबाट प्रकाशित हुने इट्रुथका अनुसार बैंकले मालदिभ्सको अर्थ मन्त्रालयले जारी गरेको ऋणपत्र खरिद गरेको हो । यसअघि गत मे महिनामा पनि एसबीआईले ५ करोड डलर बराबरको सरकारी ऋणपत्र खरिद गरेको थियो ।

मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि मालदिभ्स सरकारको विशेष आग्रहमा एसबीआईले ऋणपत्र खरिद गरेको जनाइएको छ । पछिल्ला केही वर्षयता मालदिभ्सको अर्थतन्त्रले एकपछि अर्को चुनौतीको सामना गरिरहेको इट्रुथले उल्लेख गरेको छ ।