सांसदका चौधरीका छोराले चलाएको मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, घटना ढाकछाेप गर्न खाेजिदैँ

कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको मोटरसाइकलको ठक्करको ठक्करबाट १ जना युवकको मृत्यु भएको छ। 

दुर्घटनामा परेर घाइते भएका झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका-१ मा बस्दै आएका २४ वर्षीय आकाश मण्डलको बुधबार बिहान मृत्यु भएको हो। मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका अक्षतले हाँकेको प्रदेश १-०२-०४४ प ८४४ नम्बरको मोटरसाइकलले ४ दिनअघि पैदलयात्रामा रहेका आकाशलाई ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो। नेमुवाबाट तीव्र गतिमा विराटनगरतर्फ हुइँकिएको मोटरसाइकलले कोशी राजमार्गअन्तर्गत बूढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्रीअगाडि भदौ ५ गते शनिबार साँझ ७:१० बजेतिर आकाशलाई ठक्कर दिएको हो। 

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बाटो क्रस गर्दैगर्दा दुर्घटनामा परेका आकाशको उपचारका क्रममा बुधबार बिहानका राति २:३० बजेतिर मृत्यु भएको हो। आफन्तका अनुसार बूढीगंगा-१ मा कोठा भाडामा लिएर बस्ने आकाश र उनकी पत्नी उषा तामाङ स्थानीय अमन होटलमा काम गर्थे। 

‘दुर्घटना गराउने पक्षले आकाशको उपचारमा राम्ररी ध्यान दिएका थिए। उपचारमा कुनै कमी हुन दिएनन्। यहाँ ठीक नभए अन्यत्र लगेर भए पनि उपचार गराइदिन्छौं भन्थे। तर, घाइतेलाई बचाउनै सकिएन,’ आफन्त मनिषा माझीले भनिन्। 
 
दुर्घटनामा मोटरसाइकल चालक अक्षत माझी पनि घाइते भएका छन्। टाउको, अनुहार, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराटमै उपचार भइरहेको जानकारी डीएसपी बस्नेतले दिए। उपचारमा संलग्न चिकित्सकले अक्षतको करङसमेत भाँचिएको बताएका छन्। 

प्रहरीका अनुसार मोटरसाइकल चालक अक्षतसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन। लाइसेन्स प्राप्त नगरिकन लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार मोटरसाइकल अक्षतकै नाममा छ। 

‘बिना लाइसेन्स मोटरसाइकल चलाउँदा दुर्घटना भएको देखिन्छ। मोटरसाइकल चालक सांसदका छोरा हुन्। अहिलेसम्म अस्पतालमै रहेका उनलाई जोगाउन अनेक चलेखल हुँदैछ,’ प्रहरी स्रोतले भन्यो, ‘प्रहरीलाई समेत दबाब आइरहेको छ। सत्ताको पहुँचका भरमा भित्रभित्रै घटनालाई मिलाउने र दबाउने प्रयास भइरहेको छ। चालकको गम्भीर लापरबाहीले दुर्घटना भएको हो।’ 

अक्षतविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको छ। मृतक आकाशका परिवारले सवारी ज्यान मुद्दामा दिएको जाहेरीका आधारमा घटनाको थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए। उनका अनुसार शवको विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ। परिवारका सदस्यले अन्त्येष्टिका लागि शव जिम्मा लिएर लगिसकेका छन्। 

ललिताकुमारी सत्तारुढ नेकपा (एमाले)को तर्फबाट कोशीको समानुपातिक सांसद छिन्। घटनाका विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन्। पटक-पटक गरिएको फोन नउठाएकी उनले घटना मिलाउन दौडधुप गरिरहेको स्रोतले बतायो।