छात्रलाई युवतीको नितम्बमा वीर्य छर्केको आरोपमा अदालतले दोषी करार, सीमित जरिवाना

हङकङको सिटी युनिभर्सिटीका एक छात्रलाई युवतीको नितम्बमा वीर्य छर्केको आरोपमा अदालतले दोषी करार गरेको छ।

उक्त विश्वविद्यालयमा पीएचडी अध्ययनरत २६ वर्षीय लाइ चाङवेईलाई २२ वर्षीया युवतीको नितम्बमा आफ्नो वीर्यसहितको तरल पदार्थ छर्केको अपराधमा ५ हजार हङकङ डलर जरिवाना गरिएको हो।

उनलाई मंगलबार वेस्ट काउलुन अदालतमा हाजिर गराइएको थियो। न्यायाधीश ली चिहोले पीडकले पीडितसँग ‘शारीरिक सम्पर्क नगरेको’ वा उनका ‘संवेदनशील अंगहरू नछोएको’ तथ्यलाई ध्यान दिँदै जरिवानाको दण्ड दिएका हुन्।

प्रतिवादी पक्षले चाङ अपराधको समयमा ठूलो दबाबमा रहेको तर्कसहित जेल सजायले उनलाई ठूलो धक्का दिने भन्दै जरिवाना माग गरेको थियो। न्यायाधीश होले चाङको अपराध तनाव र भावनात्मक व्यवस्थापनसँग सम्बन्धित भएको स्वीकारसहित सजायलाई जरिवानामा सीमित गरेको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।