एफआइएम एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न

काठमाडौँ, १ असोजः अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम) का प्रशिक्षक र एक सय १० जनाको सहभागितामा एफआइएम एशिया रेस अफिसियल तथा मार्सल तालिम सोमबार काठमाडौँमा सम्पन्न भएको छ । 

नेपाल अटोमोबाइल्स एशोसिएसन र यसका मोटरसाइकल तथा टेनिङ कमिसनको संयोजन, एफआइएम एशियाको सहयोग तथा माटोभर्स स्पोर्टस् क्लबको व्यवस्थापनमा भएको सो तालिममा मोटो जिपी तथा अन्य अन्तर्राष्ट्रिय मोटरसाइकल स्पोर्टमा अफिसियल प्रशिक्षकद्वारा सहभागीलाई रेस सञ्चालन, व्यवस्थापन तथा मार्सलिङको तालिम दिइएको थियो ।

एफआइएमका  प्रशिक्षक  सुजीतकुमार, समीर सुनेजा तथा मन्दीप सिंहले इभेन्ट डिजाइन, खेल सञ्चालन, मार्सलिङ तथा मार्सलको काम, कर्तव्य र अधिकार, सेफ्टी र कम्युनिकेसन तथा रिपोर्टिङलगायत विषयमा प्रशिक्षण दिनुभएको थियो । 

एशोसिएसनका वरिष्ठ उपाध्यक्ष प्रा डा बुलन्द थापाले रेसमा मेडिकल र रेस्कुकमका साथै खेलमा डोपिङसम्बन्धी नियम, प्रचलन तथा टेस्टको प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव दीपक लामालाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । 

सो अवसरमा सदस्य सचिव लामाले नेपालमा साहासिक खेलको सम्भावना रहेको बताउँदै गौरीटारमा प्रस्तावित नेपालकै पहिलो रेसिङ सर्किटमा थप लगानी वृद्धिगरी समयमा निर्माण सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलमार्फत सकारात्मक सोच र स्वस्थ शरीर विकास हुने भन्दै तालिममा सहभागीको हौसला बढाउनुभएको थियो ।