आफ्नै पैसाले गाउँलेका लागि पुल बनाइदिँदा दुई वर्षको जेल सजाय

आफ्नै पैसाले गाउँलेका लागि पुल बनाइदिँदा चीनमा एक पुरुष जेलमा गएका छन् । अनधिकृत संरचनाको पुल बनाउँदा उनलाई सजाय दिइएको भन्दै अडिटी सेन्ट्रलले लेखेको छ । 

सन् २००५ अघि उत्तर चीनको चिलिन प्रान्तको झलिन गाउँको ताओएर नदी आसपासका अन्य समुदायसँग बिल्कुल एक्लो थियो । नजिकको पुलबाट खोला तर्न पनि गाउँलेहरूले करिब ७० किमी यात्रा गर्नु पर्थ्यो । तर, ह्वाङ डेयी नाम गरेका गाउँलेले नदी पार गर्न सानो पुल बनाएपछि सबै कुरा फेरियो । यसअघि उनले गाउँलेहरूलाई नदी आरपार गराउन  डुंगा चलाउँथे । गाउँलेहरूको दुःख देखेर उनले क्षेत्रीय अधिकारीहरूले नगरेको काम गरे ।

उनले बनाएको अल्पविकसित पंटुन पुलको स्थानीयहरूले सराहना गरे । कष्ट गरेर नदी तार्नु पर्ने स्थिति थियो । केही शुल्क तिरेर नदी वारपार गर्न पाएपछि उनीहरु खुसी नै थिए । 

सन् २०१४ सम्म डेयीको व्यवसाय राम्रै चलेको थियो । अरु १७ जना गाउँलेसँग मिलेर पछि उनले पुलको स्तरोन्नति पनि गरे । भारी सवारी सधान आरपार गराउन सकियोस् भनेर धातुको १३ वटा डुंगालाई एक आपसमा वेल्ड गरेर पुललाई बलियो बनाइयो । तर चार वर्षपछि ताओनान जल मालिमा प्राधिकरणले पुल भत्काइदियो । पुल हटाएर कुरा त्यही टुङ्ग्याएको भएपनि हुन्थ्यो । तर त्यस्तो भएन । पुलबाट फाइदा लिएको भन्दै डेयी र उनको परिवारलाई कारबाही गरियो । 

सन् २०१९ मा डेयी पक्राउ परे । सन् २०१४ देखि सन् २०१८ को बिचमा पुल पार गर्ने सवारी साधनहरूबाट ४४ हजार युआन उठाएकोसमेत कयौँ अपराधमा डेयी र उनको परिवारका सदस्यहरूलाई पक्राउ गरियो । डेयीले सन् २००५ यता सवारी साधनबाट ५२ हजार युआन उठाएको त्यसलगत्तै भएको अर्को अनुसन्धानले देखायो । उनलाई २ वर्षको जेल सजाय सुनाइयो । त्यसपछि २ वर्ष वर्ष निगरानीमा राखियो ।

आफूले बनाएको पुललाई स्थानीय अधिकारीहरूले मञ्जुरी नदिएको भएपनि आफूले गाउँलेका लागि सो पुल बनाएको भन्दै डेयीले अदालतको फैसला विरुद्ध पुनरावेदन गरे । नदीमा आफूले दुई पटक पुल बनाउँदा उल्टै १ लाख ३० हजार युआन खर्च भएको उनको तर्क थियो । डेयीको पहिलो अपिल सन् २०२१ मा खारेज गरियो । तर उनले सन् २०२३ को जुनमा अर्को उच्च अदालतमा पुनरावेदन दिए । अहिले यो मुद्दा विचाराधीन छ । उनको यो कहानीबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ ।