हुम्लामा सर्वदलीय संयन्त्र सक्रिय
काठमाडौँ, २२ भदौः हुम्लामा रहेका राष्ट्रिय मान्यता प्राप्त विभिन्न राजनीतिक दलको साझा सर्वदलीय संयन्त्र छ । अरु बेला आआफ्ना पार्टीका गतिविधिमा केन्द्रीत हुने नेताहरू विकास योजना र सामूहिक कार्यमा भने एकैठाउँमा बसेर छलफल गर्छन् ।
संयन्त्रको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक बस्दै आएको छ । यसरी बस्ने बैठकमा जिल्लामा हुने विकास निर्माण, अनिमिततालगायत विषयवस्तुबारे छलफल तथा समीक्षा हुने गरेको छ । यही क्रममा आज पनि संयन्त्रको बैठक बस्यो । बैठकले जिल्लाको विकास निर्माण, सुशासनलगायत काममा समन्वय बढाउने, स्थानीय तहबाट भइरहेका विकास योजनाबारे जनप्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकाया, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष प्रकाशबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का सचिव धर्मराज बोहरा, राप्रपाका प्रतिनिधि नरेन्द्रबहादुर शाहीलगायतको उपस्थित रहेको थियो ।
बैठकले हुम्लाको सुशासन र विकासका लागि प्रमुख जिल्ला अधिकारी र कार्यालय प्रमुखहरूसँग संयुक्त समन्वय बैठक गर्ने, स्थानीय सरकारबाट हुने गरेका सेवा प्रवाह, बजेट, योजना र विकास गतिविधिको समीक्षा तथा कार्यान्वयन योजनाबारे जनप्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय भएको नेपाली कांग्रेसका उपसभापति रोकायाले जानकारी दिनुभयो ।
प्रतिक्रिया