एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ : रामकुमारी झाँक्री
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फेसबूकमा अनफलो गर्ने अभियान चलिरहेको छ ।
अहिलेसम्म उनलाई ७५ हजारभन्दा धेरैले फलोअर्सले अनफलो गरिसकेका छन् । तर, नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले भने ओलीप्रति सहानुभूति व्यक्त गरेकी छन् ।उनले आफ्नो प्रमाणित तथा आधिकारिक फेसबूकमा भनेकी छन्, “एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।”
रामकुमारी एमालेकी पूर्वनेता हुन् । पछिल्लोपटक माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा एकीकृत समाजवादीकै कित्तामा उभिएकी उनी अहिले पार्टीमा किनारकृत भएकी छन् ।
उनले पार्टी पदाधिकारीमा चुनावसमेत हारिन् । उपाध्यक्षमा उम्मेदवारी दिएकी उनी जयन्तीदेवी राईसँग भारी मतले पराजित भइन् । तर, आफ्नो पराजयलाई ठूलो रूपमा नलिएको उनले बताएकी छन् । चुनाव हारेपछि उनको प्रतिक्रिया थियो— मैले ठूलो रूपमा लिएको छैन, मलाई त रमाइलै पो लागिरहेको छ ।
चुनाव हारेपछि उनी पुन: एमाले फर्किनसक्ने आकलनहरू भइरहेका छन् । ठीक यहीबेला उनले अध्यक्ष ओलीप्रति सहानुभूति देखाएकी हुन् । उनले आफ्नै अध्यक्षजस्तो ‘…अध्यक्षको फलोअर्स…’ भनेकी छन् ।
भलै उनले आफू एमालेमा नफर्किने बताएकी छन् । तर, उनका लागि एकीकृत समाजवादी त्यति उपयुक्त पार्टी नभएको विश्लेषणहरू गरिन्छ ।अब रामकुमारीको राजनीतिक जीवन कसरी अगाडि बढ्छ ? हेर्न बाँकी छ ।
प्रतिक्रिया