प्रधानमन्त्री ओलीलाई फेसबुकमा 'अनफलो' गर्ने अभियान चलाइयाे
प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा 'अनफलो' गर्ने अभियान चलाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् ।
मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहिको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका छन् । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न थालेका हुन् ।मंगलबार राति ८ बजेतिर ओलीलाई छ लाखले फलो गरेको देखिन्थ्यो । तर, डेढ घण्टापछि साढे ९ बजेतिर झन्डै पाँचहजार जनाले अनफलो गरेका छन् । साढे ९ बजेतिर उनको फलोअरको संख्या छ लाख २१ हजारमा झरेको छ ।
गत आइतबार (भदौ १६ गते) मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।
त्यसपछि एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए । बालेनले झुटो दाबीसहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो ।मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो । त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै एउटा पोस्ट गरेका थिए ।
प्रतिक्रिया