अफगानिस्तानको सत्तामाथि तालिबानले कब्जा गरेको आज ३ वर्ष पूरा

तालिबानले अफगानिस्तानको सत्तामाथि कब्जा गरेको आज ३ वर्ष पूरा भएको छ।

सन् २०२१ को अगष्ट १५ मा २० वर्षपछि अफगानिस्तानको सत्तामा फर्केको तालिबानले आफ्नो वार्षिकोत्सव मनाएको छ।अमेरिका समर्थित सरकार ढलेपछि र यसका नेताहरू निर्वासनमा भागेपछि तालिवान सेनाले राजधानी काबुल कब्जा गरेको थियो।

आफ्नो २० वर्षे विद्रोह अन्त्य गरेको तीन वर्षमा तालिबान सरकारले इस्लामको कडा व्याख्यामा आधारित कानुनहरू लागू गर्दै देशमाथि आफ्नो पकड बलियो बनाएको छ।संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ भनिने नीतिको मार झेलिरहेका महिलामाथिको प्रतिबन्धका कारण सरकार अन्य कुनै पनि राज्यबाट मान्यता प्राप्त गर्न सकेको छैन।

समारोहको केही दिन अघि, तालिवान कार्यकर्ताहरू काबुल वरिपरि वार्षिकोत्सवको मितिको साथ ‘बधाइ’ लेखिएको ब्यानर र साइनबोर्डहरू टाँस्न व्यस्त थिए।सत्तामा ३ वर्ष पूरा भएको अवसरमा पूर्व अमेरिकी बगराम एयर बेसमा गरिएको सभालाई सम्बोधन गर्दै तालिबानका प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले इस्लामिक शासन कायम राख्नु र राष्ट्रियताको सुरक्षा गर्नु आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताए।

उनले भने, ‘इस्लामिक शासन कायम राख्ने, सम्पत्तिको रक्षा गर्ने, जनताको जीवन रक्षा गर्ने र हाम्रो राष्ट्रको सम्मान गर्ने जिम्मेवारी तालिबान सरकारको हो।’अखुन्दले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै ‘यस मितिमा अल्लाहले मुजाहिद राष्ट्र अफगानिस्तानलाई एक अन्तर्राष्ट्रिय घमण्डी र कब्जा गर्ने शक्तिमाथि निर्णायक विजय प्रदान गर्नुभयो’ भनिएको थियो।

तालिवान आन्दोलनको उद्गमस्थल र धार्मिक आदेशमार्फत शासन गर्ने नेता हिबतुल्लाह अखुन्दजादाको घर रहेको दक्षिणी शहर कान्दाहारमा पनि ठूलो सुरक्षा र सजावट गरिएको छ।