हसिना भागेपछि पनि किन रोकिएन मान्छे मार्ने क्रम ?
बंगलादेशमा पछिल्लो एक साता मारिनेको संख्या २३२ पुगेको छ । अघिल्लो सोमबार प्रधानमन्त्री शेख हसिना मुलुक छाडेर भारत गएपछि त्यहाँ भड्किएको साम्प्रदायिक दंगामा मारिनेहरुमध्ये अधिकांश हिन्दू,हसिना नेतृत्वको अवामी लिग पार्टी र उनको शासनकालमा निकट रहेका व्यक्ति तथा तिनका परिवार रहेको बताइएको छ ।
बंगलादेशको दोस्रो ठूलो धार्मिक समुदाय हिन्दू र उनीहरुको मन्दिरमा भएको आक्रमण रोक्न अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजधानी ढाकास्थित एउटा मन्दिरको भ्रमण गरेका छन् । ढाकेश्वरी मन्दिर पुगेर उनले ‘अधिकार सबैको बराबर’भन्ने सन्देश दिएका छन् ।
उनले भने, ‘हाम्रो प्रजातान्त्रिक अभियानमा हामी सबै बंगलादेशी हौं । यसमा मुस्लिम,हिन्दू वा बुद्धिस्ट भन्ने हुँदैन । हामी सबैको अधिकार सुनिश्चित हुनुपर्छ ।’बंगलादेशमा यसबीच हिन्दू,बौद्ध र क्रिश्चियन धर्मावलम्बी तथा उनीहरुका धार्मिक स्थानमा २०५ वटा आक्रमण भइसकेका छन् । ५२ जिल्लामा भएका अल्पसंख्यकहरुमाथिको आक्रमणप्रति बंगलादेश हिन्दू बुद्धिष्ट क्रिश्चियन युनिटी काउन्सिल र बंगलादेश पूजा उड्जपन परिषदले गम्भीर आपत्ति जनाएका छन् ।
यसबीच अल्पसंख्यकहरुले निकालेको प्रदर्शनमा त्यहाँको संसदमा कम्तीमा १० प्रतिशत सिट हिन्दूलगायत अल्पसंख्यकहरुलाई आरक्षण गरिनुपर्ने माग राखिएको छ । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युनुसलाई बधाई दिँदै हिन्दूलगायत सबै अल्पसंख्यकको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया