क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारे क्यानले अर्काे बोर्ड बैठकमा निर्णय हुने
क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारेमा नेपाल क्रिकेट संघ(क्यान) को आगामी बोर्ड बैठकले निर्णय गर्ने भएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आदिलको निलम्बनका बारेमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताए ।क्यानको असार २१ मा बसेको बोर्ड बैठकको निणर्य नम्बर १३ मा म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिलको निलम्बन फुकुवा प्रकृया सम्बन्धमा संघको अनुशासन समितिलाई १ हप्ताभित्र आवश्यक निर्णयका सिफारिस गर्न जिम्मेवारी दिइएको थियो ।
‘क्यानकाे अनुशासन समितिले आफ्नो निर्णय तयार गरिसक्यो । केही दिनमा नै बस्ने क्यानको बोर्ड बैठकले यस बारेमा थप निर्णय लिनेछ,’ प्रवक्ता लामाले भने ‘एउटा खेलाडीलाई लागेको प्रतिबन्ध फुकुवा गर्ने अधिकार कुनै समितिमा हुन्न । त्यो बोर्डको अधिकार हो । त्यसकारण बोर्डले यसबारेमा चाँडै नै निणर्य दिनेछ ।’
सन् २०२२ मा भएको पहिलो संस्करणको नेपाल टि ट्वान्टी लिगका क्रममा म्याच फिक्सिङमा सम्लग्न देखिए पछि आलममाथि क्यानले प्रतिबन्ध लगाएको थियो । अदालतले उनलाई सफाई दिएपछि क्यान प्रतिबन्धका बिषयमा पुर्नविचार गर्ने प्रक्रियामा छ ।
प्रतिक्रिया