सभामुख घिमिरे सरकारको निर्देशनमा चलेको रास्वपा सांसदहरुकाे आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभामुख देवराज घिमिरे सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् ।

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सो पार्टीका सांसदहरुले सभामुख घिमिरेको भूमिकामाथि प्रश्न उठाएका हुन् । सरकारको निर्देशनमा प्रतिपक्षको आवाज दबाउन सभामुख उद्धत देखिएको सांसदहरुको दाबी छ । 

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सांसद हरि ढकालले विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकमका बारेमा बोल्दैगर्दा सभामुख घिमिरेले माइक काटेका थिए । त्यसपछि रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्र समेतका सांसदहरुले बैठक अवरोध गरेपछि सभामुखले सांसद ढकाललाई बाँकी कुरा राख्न दिएका थिए । यसै प्रकरणलाई लिएर संसद बैठकपछि सांसद ढकालले सभामुख घिमिरे सरकारको निर्देशनमा चलेको बताए । भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधारातमा पनि आकस्मिक विषय हुने उनको तर्क छ । आफूले विद्युतको वक्यौता महशुल उठाउनुपर्छ भन्न लाग्दालाग्दै सभामुखले माइकको लाइन काटेको उल्लेख गर्दै उनले संसदमा महशुल उठाउनुपर्छ भन्न नपाइने हो ? भनि प्रश्नसमेत गरेका छन् । 

भ्रष्टाचारको विषय संसदमा उठाउन खोज्दा सभामुखबाट माइक काटिनु आपत्तिजनक भएको ढकालको भनाई छ ।रास्वपाका अर्का सांसद गणेश पराजुलीले पनि सभामुख घिमिरे सरकारले निर्देशनमा चलेको जिकिर गरेका छन् । दुई तिहाईको सरकारले दम्भ देखाउने कोशिस गरेको भान भएको जनाउँदै उनले सभामुखले पदीय मर्यादा र सांसदहरुको अधिकारको समेत ख्याल गर्न नसकेको बताए ।

‘सांसदहरुले जनताको कुरा सम्मानित सदनमा राख्दै गर्दा सरकारले कतै दुई तिहाईको दम्भ देखाउने कोशिस गरेको हो कि भन्ने हामीलाई भान भयो',पराजुलीले भने, 'सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरुको अधिकारको पनि न्यूनतम ख्याल नगरिकन जसरी प्रश्तुत हुनुभयो, दुई तिहाइको सरकारले जस्तो निर्देशन दिएको थियो त्यो निर्देशनको लागू गर्न खोजिएको हो कि भन्ने हामीलाई भान भएको छ ।’ जनप्रतिनिधिबाट संसदमा मुखरित हुने जनताको आवाज दबाउन खोजिएको भन्दै उनले आफूहरुको उपस्थित हुँदासम्म त्यो सम्भव नहुने चेतावनीसमेत दिएका छन् ।