काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलको चुम्बन गरेको दृश्य कसरि बन्याे ?

पछिल्ला केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलको एक भिडिओ भाइरल छ । फेसबुक पेजमा आएको उक्त भिडिओमा मेयर शाहले उपमेयर डङ्गोललाई चुम्बन गरेको दृश्य समावेश छ । 

झट्ट हेर्दा भिडिओ वास्तविक जस्तै देखिए पनि त्यसलाई नियालेर हेर्ने हो भने भिडिओ ‘डिफफेक प्रविधि’को सहयोगमा तयार पारिएको सजिलै अनुमान लगाउन सकिन्छ । डिपफेक प्रविधिका बारेमा हामीले तल विस्तृतमा चर्चा गरेका छौं । भाइरल भएको सो भिडिओ डिपफेक प्रविधिले नै तयार पारेको हो भन्ने तमाम आधार छन् । सबैभन्दा पहिलो पक्ष भनेको भिडिओमा ‘लुमा’को वाटरमार्क छ । अर्थात् यो भिडिओ लुमा एआईको प्रयोग गरी तयार पारिएको छ । 

केही सेकेन्डको उक्त भिडिओमा चुम्बन गरेको दृश्यमा दुबै पात्रको अनुहार परिवर्तन भएको देख्न सकिन्छ । त्यस बाहेक हात र टाउकोको चाल पनि अस्वाभाविक देखिन्छ । यी विभिन्न पक्षलाई केलाएर हेर्दा यो भिडिओ डिफफेक प्रविधिबाट तयार पारेको पुष्टि हुन्छ । 

हालै सम्पन्न काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेलमा मेयर शाह र उपमेयर डङ्गोल एकसाथ उपस्थित थिए । नेपाल र भारतबिच भएको फाइनल खेलकै क्रममा भिडिओमा मेयर शाह र उपमेयर डङ्गोल देखिएका थिए । उक्त क्लिपलाई लिएर डिफफेक भिडिओ बनाइएको हो ।  

सो भिडिओ अधिकांश फेसबुक पेजले यसको वास्तविकता जान्ने हिसाबले राखेको देखिन्छ । त्यस भिडिओको कमेन्टमा हेर्ने हो भने केहीले डिपफेक प्रयोग भएको बताएका छन् । तर, अधिकांशले भने यो भिडिओ वास्तविक नै भएको अड्कल काटेका छन् । केहीले भने उक्त भिडिओ बनाउनेलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरेका छन् । 

नेपालमा डिफपेक भिडिओले गत वर्ष सम्पन्न उपनिर्वाचनकै बेलादेखि बढी चर्चा पाइरहेका छन् ।  खासगरी चुनावी प्रतिस्पर्धामा आएका राजनीतिक दलका शीर्ष नेताहरूका त्यस्ता भिडिओले चुनावमा बढी चर्चा पाएका थिए । त्यसबाहेक राजनीतिक दलका नेता र राजनीतिज्ञहरूले गीत गाएको, नाचेको भिडिओ पनि चर्चामा आइरहेका हुन्छन् । त्यसमा प्रायः डिपफेक र भ्वाइस क्लोनिङ प्रविधिको प्रयोग भएको हुन्छ । 

जसरी भारतीय नायिका रश्मीका मन्दनाको डिफफेक भिडिओ बाहिरिंदा भारतमा उक्त प्रविधिले चर्चा पायो, त्यस्तो चर्चा नेपालमा खासै भएको छैन । रश्मीका मन्दना, भारतीय उद्यमी रतन टाटा, क्रिकेटर सचिन तेन्दुलकर लगायत अन्य चर्चित व्यक्तिहरूको डिफफेक भिडिओ बन्ने क्रम बढेपछि भारतले त्यस सम्बन्धी ऐन नै जारी गर्‍यो ।

समय समयमा डिफफेक भिडिओमार्फत लाखौंको ठगी भएका घटना पनि बाहिर आइरहेका हुन्छन् । खासगरी लुटपाट, अपहरण आदिका लागि डिफफेक भिडिओ बन्ने गरेका देखिन्छन् । नेपालको सन्दर्भमा भने डिफफेक नै प्रयोग गरी आपराधिक घटना भएको औपचारिक जानकारी नभएको साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउँछन् । “हाम्रोमा (साइबर ब्युरोमा) औपचारिक रूपमा डिफफेक प्रविधि प्रयोग गरी अपराध गरेको भन्ने खाले घटना आइसकेका छैनन्,” टेकपानासँगको कुराकानीमा उनी भन्छन्, “तर, फोटोशप लगायत अन्य विभिन्न सफ्टवेयर प्रयोग गरी कसैको प्रतिष्ठामा आँच पुर्‍याउने किसिमका अपराध भने भइरहेका हुन्छन् ।”

उजुरीका क्रममा मर्फिङ भएको भन्ने उल्लेख हुने हुँदा ठ्याक्कै डिफफेक प्रविधिबारे घटना दर्ता नभएको उनले सुनाए । यद्यपि विश्वबजारमा डिफफेक प्रविधिका नकारात्मक एवम् सकारात्मक प्रभाव देखिरहँदा त्यसको प्रयोग नेपालमा पनि विस्तारै हुँदै गइरहेको उनले सुनाए । 

“कसैले पनि कुनै पनि प्रविधिको दुरुपयोग गरी अर्काको मान प्रतिष्ठामा आँच पुर्‍याउने काम गर्नु हुँदैन,” उनले भने, “एकैछिनको रमाइलोले कसैको जीवनमा गम्भीर असर पार्न सक्छ भने बनाउने व्यक्ति कानून बमोजिम कारबाहीको भोगिदार बन्नुपर्ने अवस्था आउन सक्छ ।”

प्रहरी उपरीक्षक अवस्थीका अनुसार पछिल्लो समय नेपालमा भ्रामक र गलत सूचना प्रवाह गर्ने गतिविधि पनि बढ्दो छ । सामाजिक सञ्जाल वा इन्टरनेटका कुनै पनि माध्यममा देखिएको सामग्री झट्ट विश्वास गरी धारणा राख्ने हतारो नगर्न समेत अवस्थीले सुझाए । आफूलाई आशङ्का लागेको वा भनौं यस्तो कसरी हुन सक्छ भन्ने जस्ता सामाग्री देखेमा त्यसको तथ्य जाँच गरेर मात्र धारणा राख्नुपर्ने उनको भनाई छ । त्यस्तै कसैले डिपफेक भिडिओ बनाए तुरुन्तै साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन अवस्थीले सुझाव दिए ।