खानेपानीको महसुस वृद्धिविरुद्ध आन्दोलन चर्किएपछि , मेयर साम्पाङले बोलाए १० दललाई वार्तामा

धरान उपमहानगरपालिकामा खानेपानीको महसुस वृद्धिविरुद्ध आन्दोलन चर्किएपछि मेयर हर्क राई (हर्क साम्पाङ)ले आन्दोलनरत १० दलका प्रतिनिधिहरुलाई वार्तामा बोलाएका छन्।  जनतालाई नि:शुल्क पानी खुवाउने एजेण्डा बोकेर मेयर बनेका साम्पाङले खानेपानीको महसुल, खानेपानी जडान र खानेपानी नामसारीको महसुल वृद्धि गरेपछि धरान उपमहानगरपालिका नेतृत्वविरुद्ध दलहरु आन्दोलनमा उत्रिएका थिए। 

धरान उपमहानगरपालिका र  चोक चोकमा आन्दोलन चर्काएपछि आइतबार साम्पाङले कांग्रेस,एमाले, जसपा, जसपा नेपाल, माओवादी केन्द्र लगायतका १० दललाई वार्तामा बोलाएका हुन्। दलहरुले आज पनि उपमहानगरपालिकाको मुख्य गेटमा धर्ना दिएर नाराबाजी गरेका थिए। 

दलहरुको आन्दोलन सशक्त बनेपछि उनले वार्तामा बोलाएका हुन्। साम्पाङले दलहरुलाई वार्तामा बोलाएपछि दलका प्रतिनिधिहरु आन्तरिक तयारीमा जुटेको कांग्रेस महाधिवेशन प्रतिनिधि रबि राइले बताए। 

एमालेका धरान अध्यक्ष हर्कजङ एभेङले मेयर हर्क साम्पाङले खानेपानी व्यवस्थापन बोर्डको बैठक नै नराखी खानेपानीको महसुल वृद्धि गरिएकाले आन्दोलन गर्नु परेको बताए। उनले १० दलको जायज मागलाई मेयर राईले सम्बोधन नगरे आन्दोलन थप शसक्त बनाउने चेतावनी दिए।