प्रचण्डका गफ धेरै भए, अब आफन्तहरूको घेराभित्र आराम गर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले छटपटी भएको छ । २०६३ सालयता बिरलै सत्ताबाहिर बसेका उनलाई अहिले कांग्रेस र एमाले मिलेको पटक्कै चित्त बुझेको छैन । राजनीतिक स्थायित्व र संविधान संशोधनको प्रयासप्रति उनले शंका उब्जाउने काम गरिरहेका छन् । उनलाई लाग्छ, आफू सत्तामा भए सब ठिकठाक हुन्छ । नत्र प्रतिगमन भइहाल्छ ।
उनी स्वकीय सचिव आफ्नै छोरीलाई राख्छन् । विदेश भ्रमणमा छोरीलाई नै लैजान्छन् । छोरीमार्फत् आएका फाइलमा तुरुन्त कारबाही गर्छन् । अझ भन्दा छोरीमार्फत आएका व्यापारीलाई मात्र भेट्छन् र तुरुन्त काम तामेल गरिदिन्छन् ।
राष्ट्रिय सभाको अध्यक्ष आफ्नै भाइलाई बनाउँछन् । राजदूत भाइलाई नै बनाएर पठाउँछन् । मन्त्रिपरिषद्मा एकजना दलितलाई राख्दैनन् । जब उनी सत्ताबाहिर पुग्छन्, अनि उनलाई दलित र जनजातिको माया लाग्न थाल्छ । मधेसीको पिरले उनलाई जलाउँछ । महिलाप्रति अनपेक्षित दयाभाव उर्लिएर आउँछ ।
उनी चुनाव कांग्रेससँग मिलेर लड्छन् । एकता भएर बनेको सरकार ढाल्न लाग्छन् । पार्टी विभाजनका लागि अगुवाइ गर्छन् । राजेन्द्र लिङ्देनसँग मिलेर सरकार बनाउँछन् । आफू सरकारमा हुँदा र सरकारमा पुग्नका लागि उनलाई सबथोक जायज हुन्छ । तर प्रतिपक्षमा धकेलिएपछि उनलाई वामपन्थी एकताको बाडुली लाग्न पुग्छ ।
शनिबारको पार्टी बैठकमा उनले बृहत् बाम एकताको प्रस्ताव अघि सारे । उनको प्रस्तावलाई नपत्याउने छूट माओवादी नेता कार्यकर्ताहरुलाई त छैन । तर तीबाहेक अरु कसैले पनि पत्याउने र त्यसको औचित्य देखेर चित्त बुझाउने ठाउँ छैन ।
उनले भन्न खोजेको बृहत् वाम एकता के हो ? उनले कोसँग एकता चाहेका हुन् ? हिजो बाबुराम भट्टराईदेखि मोहन वैद्य, नेत्रविक्रम चन्द, सीपी गजुरेल, रामबहादुर थापा लगायत उनकै पार्टीमा थिए । उनीहरूलाई पार्टीमा टिक्नै नसक्ने अवस्थामा पुर्याउने प्रचण्डलाई अहिले कोसँग किन एकता गर्न मन लागेको हो ? के उनी केपी शर्मा ओलीको नेतृत्व स्वीकार गरेर एमालेमा मिसिन तयार छन् ? टीआरसी विधेयक अगाडि बढेपछि अब उनलाई के एमालेको ओत चाहिएको हो ? अथवा उनले अग्नि सापकोटालाई सर्वोच्च अदालतको कारबाहीबाट जोगाउन सकिन्छ कि भनेर बृहत् शक्तिको ध्वाँस दिन खोजेका हुन् ?
प्रचण्ड जब सत्ताबाहिर पुग्छन्, उनी जनताका घरमा जाने वाचा गर्छन् । संगठन बनाउने कसम खान्छन् । कार्यकर्तासँगै खाने र सुत्ने कुरा गर्छन् । तर यी सबै क्षणिक भावनामा मान्छेलाई भुलाउने कुरा हुन् । उनको मूल नीति नै भुलभुलैया हो । उनको मूल अस्त्र शब्दजाल हो । कार्यकर्तादेखि जनतासम्मैलाई उनले शब्दजालमा भुलाउँदै आएका थिए । गिरिजाप्रसाद कोइरालादेखि माधव नेपालसम्मै उनको शब्दजालका शिकार भए । अहिले पनि अरु केही नेता बन्न सक्नेछन् । केही समय शेरबहादुर देउवा पनि उनको बोलीमा लटपटिएका नै हुन् । ओली र देउवाले पालैपालो धोका खाएपछि बल्ल ठाउँमा आएका छन् ।
अब प्रचण्डसँग बोल्न बाँकी कुनै झुट छैन । प्रचण्डले दिन बाँकी कुनै धोका छैन । गर्न बाँकी कुनै बेइमानी छैन । कतिसम्म भने चीनमा गएर भारतको विरोध, भारतमा गएर चीनको विरोध गरेर सत्ता टिकाउन खोज्दा राष्ट्रिय विश्वसनीयता दाउमा लगाएका छन् उनले । उनी आफू त अस्थिर र अविश्वसनीय थिएन नै । हुँदाहुँदै सारा नेपाल र नेपालीको साख सिध्याएर अन्तर्राष्ट्रिय समुदायमा समुदायमा बदनाम बनाएका छन् ।
यी सबै प्रसंग यहाँ उल्लेख गर्नुको कारण के हो भने अब प्रचण्डले धेरै बकबक गर्नुको अर्थ छैन । उनले ठूला योजना र घोषणा गर्नुमा पनि कुनै वजन छैन । अर्को चुनावसम्म कांग्रेस र एमाले एक्लाएक्लै लड्ने हो भने माओवादीको हालत जनमोर्चामा सीमित हुनेछ । त्यतिखेर प्रचण्डसँग छोरी र ज्वाइँहरु पनि नहुन सक्छन्, जसरी अहिले बाबुरामका पक्षधमा कोही बाँकी छैनन् । तसर्थ धेरै बोल्नुभन्दा चुपचाप आराम गरेर हुन्छ । आफन्तहरुको घेराभित्र बसेर आराम गर्न यो सबैभन्दा उपयुक्त घडी हो । जब उनी को हुन् भन्ने कुरा सम्पूर्णरुपमा देश–विदेश सबैतिर चिनिइसके भने फेरि यस्तो र त्यस्तो भनेर शब्दका जाल बुन्नुको सार्थकता के रहन्छ र ?
प्रतिक्रिया