कारबाहीमा पर्ने भएपछि कुलमान मिथ्यांक प्रस्तुत गरी सहानुभूति लिने दाउमा
काठमाडौं,२६ साउन: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ३ वर्ष पूरा गरेको अवसर भन्दै कथित प्रगति विवरण सार्वजनिक गरे । प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालमा महत्त्वपूर्ण प्रगति भएको देखाए ।
उनी पहिलो कार्यकालको ४ वर्ष पूरा पदमा बसे । १ वर्ष प्राधिकरणमा रहेनन्। दोस्रो कार्यकाल २०७८ साउन २५ बाट सुरु गरेर ३ वर्ष पूरा गरे । उनको यस कार्यकालको अब १ वर्ष बाँकी छ । ३ वर्ष पूरा हुँदा उनले कार्यसम्पादनमा आव २०७८/७९, २०७९/८० मा क्रमशः ९४.२३, ९८.९४ प्रतिशत अंक प्राप्त गरेको दाबी गरे । २०८०/८१ मा कार्यसम्पादन मूल्यांकन अगाडि बढेको उनको भनाइ छ ।
आफूले प्रसारण पूर्वाधार, विद्युतीयकरण, ठूला जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने, निर्यातलगायतलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको भन्दै एउटा फेहरिस्त सार्वजनिक गरे । प्रविधिमार्फत स्वचालित गर्ने कार्यलाई अगाडि बढाइएको उनको दाबी थियो ।
आव २०७२/७३ मा विद्युतीयकरणको अवस्था करिब ५८ प्रतिशत रहेकामा ३ वर्षमा भएको उपलब्धि महत्त्वपूर्ण रहेको घिसिङले उल्लेख गरे । उनले भने, ‘८९ प्रतिशतबाट विद्युतीकरण ९९ प्रतिशतमा पुगेको छ। ८ वषअघि २९ लाख रहेको विद्युत् ग्राहकको संख्या सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ।’
त्यस्तै विकट बस्ती पहिचान गरी बाँकी विद्युतीकरण भइरहेको उनले सुनाए । आफ्नै स्रोतबाट सुकुम्बासी, चेपाङलगायतका घरमा निःशुल्क मिटर दिइएको, स्थानीय निकायसँग मिलेर स्मार्ट सडक बत्ती जडानबाट सहर उज्यालो बनाउने क्रम अघि बढेको उनको भनाइ छ ।
त्यसैगरी ८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट बिजुली खपत हुने गरेकामा १० अर्ब २३ करोड युनिट पुगेको, प्रतिव्यक्ति बिजुली खपत १३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको उनले जानकारी दिए । घर र बस्तीमा बत्ती बाल्न मात्र नभई उद्योग व्यवसायमा बिजुली पुर्याउन आन्तरिक खपत बढाउन सफलता प्राप्त भएको बताए ।
विद्युतीय सवारी साधनको प्रयोग बढेको, भान्सामा विद्युतीय चुलो बल्न थालेको, पेट्रोलियम खपत घट्दा कार्बन उत्सर्जनमा सहयोग पुगेको उनको भनाइ छ । प्राधिकरणले ६२ वटा चार्जिङ स्टेसन आफैँले सञ्चालनमा ल्याएको उनको भनाइ छ । निजी क्षेत्रबाट बनेका ४ सय बढी चार्जिङ स्टेसन सञ्चालनमा आएको उनले जानकारी दिए ।
पछिल्लो समय प्राधिकरण निरन्तर नाफामा गइरहेको पनि उनले उल्लेख गरे । ‘०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले त्ण्सयता भने ती दिन फर्केर हेर्नुपरेको छैन’, उनले भने।
आव २०७३/७४ मा १ अर्ब ५० करोड खुद नाफा कमाउन सुरु गरेको प्राधिकरणले गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको बताए । ८ वर्षअघि ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहे पनि प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको दाबी गरे ।
तर धेरै ठाउँमा प्राधिकरणको नाफा कागजी नाफा भएको अहिले देखिँदै छ । उठ्दै नउठेको डेडिकेटेड र ट्रंकलाइनको बिल काटेर नाफा देखाएको विवरण अहिले छताछुल्ल भइसकेको छ । प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा पूर्ति गरेर ४७ अर्ब नाफामा पुर्याएको र दुवै जोड्दा करिब ८२ अर्बको नाफा देखिएको हिसाब उनले प्रस्तुत गरे ।
विद्युत प्राधिकरण एक त पूर्णतः सरकारी स्वामित्वको संस्था हो । अर्को जनताबाट उठाएको रकम नै प्राधिकरणको खास आम्दानी हो । व्यापारीलाई अर्बौं रुपैयाँसम्म उधारो दिएर, भारतलाई कौडीको भाउमा बिजुली बेचेर, आयात महँगोमा गरेर, अर्बौँको ठेक्का लगाएर भूमिगत तार बिछ्याउने काम अलपत्र पारेर कुलमानले कुस्त कमाइसकेका छन् ।
अब उनी कारबाहीबाट बच्न नक्कली हिसाब प्रस्तुत गरेर पत्रकार सम्मेलन गर्न हिँडेका छन् । एकातिर सार्वजनिक लेखा समितिले उनको हिसाबको यथार्थ खोतल्दै छ । अर्कोतिर सरकारले पनि उनीसँग हिसाब मागिरहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ छन् । सबैतिरबाट प्रश्न र छानबिनले घेरिएपछि अब नक्कली तथ्यांक प्रस्तुत गरी जनताको सहानुभूति खोज्न हिँडेका छन् ।
प्रतिक्रिया