माओवादीको छायाँमा चलेका कुलमान घिसिङले फेरि बोले झुट

काठमाडौं,२६ साउन: सरकारी निकाय तथा संस्थान राज्यको सम्पत्ति हो। त्यहाँका कर्मचारी आजीवन होइनन्, स्थायी भनिए पनि निश्चित समय हुन्छ। अझ संस्थानको सर्वाेच्च पदमा सरकारले नै नियुक्त गर्छ। जुनसुकै दलको सरकार होस्, विधि, विधानअनुसार नियुक्ति हुने हो। कुनै दलको पालामा नियुक्त भएको भन्दैमा सोही दलप्रति कृतज्ञता जनाउनु, अनुग्रही हुनु भूल हुन्छ। 

कुलमान घिसिङ त्यस्ता पात्र हुन् जो माओवादी केन्द्रको छायाँमा छन्। वरीयता मिचेर माओवादीले नै नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरेपछि उनी आठ वर्षदेखि माओवादीको छत्रछायामा छन्। उनले यसअघि पाँच वर्षे कार्यकाल सकेका थिए। घिसिङको पालामा मुलुक लोडसेडिङमुक्त भयो, उनको योगदानको प्रशंसा गर्नुपर्छ।

तर, कुनै पदाधिकारीको पदावधि सकिसकेपछि फेरि अर्काे विकल्प नै छैन भन्ने भाष्य माओवादी र कुलमानले सृजना गरे। घिसिङलाई ल्याउन माओवादी सरकारले तत्कालीन प्रबन्ध  निर्देशक हितेश शाक्यलाई दरबन्दी नै नरहेको उर्जा आयोगमा पठायो। अदालतले मुद्दा छिनोफानो गर्न सकेको छैन।

घिसिङ दोस्रो कार्यकालको दोस्रो वर्षमा छन्। उनी लोडसेडिङ अन्त्यको ब्याज खाइरहेका छन्। प्राधिकरणमा सुधारका काम गर्नुभन्दा सरकारलाई घुर्की  लगाइरहेका छन्। पछाडिबाट माओवादीले समर्थन गरिरहेको छ।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसूल विवादमा संसदीय समितिले छानबिकन गर्न घिसिङभन्दा बढी टाउको दुखाइ माओवादीको बनेको छ। माओवादीको काठमाडौंमा सुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रबन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैँले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो ।

भ्रष्टाचारविरोधी अभियानमा अवरोध आउने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।   माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले  त डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने बिषयमा विवादलाई जातीयकरण गर्ने प्रयास गरेको छ।  

मोर्चाका अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिला कुमार घलानले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘ विद्युत प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिडलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ।’

घिसिङ भने झुट बोल्दै हिँडेका छन्। प्राधिकरण हाल नाफामा छ। तर, उनले उठदै नउठेको ट्रंक र डेडिकेटेड लाइनको बक्यौतासमेत जोडेर उच्च नाफा देखाएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरेका घिसिङले ८ वर्षमा प्राधिकरणका लागि ८२ अर्ब नाफा कमाइदिएको बताएका छन्।  ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।  ८ वर्षमा ८२ अर्ब २ करोड नाफा पुगेको रहेछ,’ उनले भने। उनले डेडिकेटेड र ट्रंक लाइन विद्युत्को बक्यौता महसुल जोडेर प्राधिकरणले नाफा नदेखाएको जिकिरसमेत गरे।