रवि लामिछाने र श्याम ज्ञवालीको अति निकटताले प्रहरीमा सल्किएको आगो

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको महत्त्वाकांक्षा र तत्कालीन गृहमन्त्री रवि लामिछानेसँगको अति निकटताका असर अहिले बाहिरिएका छन् । तर भित्रभित्रै असन्तुष्टिको आगो भने त्यतिबेलै सल्किँदै गएको थियो ।

कामभन्दा प्रचार बढी गर्न रुचाउने र पदीय हैसियतले प्राप्त सूचनालाई शक्तिको चलखेलमा उपयोग गर्ने भनेर चिनिएका प्रहरी अधिकारी ज्ञवाली अहिले आफै छानबिनमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा छँदा पनि उनले व्यावसायिकता निभाउन नसकेको आरोप खेपिरहेका छन् । त्यसैले केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री भएलगत्तै उनीमाथि छानबिन गर्न अर्का अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा समिति गठन गरिएको थियो । 

छानबिन अझै जारी रहेको प्रहरी मुख्यालयका अधिकारीहरु बताउँछन् । यद्यपि छानबिन नसकिँदै उनीमाथि कारबाहीस्वरुप सीआईबीबाट प्रदेश समन्वय एकाईमा सरुवा गरिसकिएको छ । उनी अब छानबिनकै अवस्थमा घर गए पनि आश्चर्य नमाने हुने भएको छ । किनभने उनी अर्को महिना सेवाबाट अवकाश पाउँदै छन् ।

ज्ञवालीमाथि कम्तीमा पनि नौवटा गम्भीर आरोप लागेको बताइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उनीमाथि उजुरी परेका छन् । उक्त उजुरीका सम्बन्धमा छानबिन गर्न समितिले गृह मन्त्रालयलाई पनि पत्राचार गरेको थियो । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सोधिसकेपछि छानबिनका लागि समिति बनाइएको भनिएको छ ।

एआईजी ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले ‘चेन अफ कमान्ड’ तोड्दै ‘कू’ को शैलीमा प्रहरी नेतृत्व हत्याउने योजना बनाएको गम्भीर आरोप छ। यस्तै नागरिकता र जन्ममिति विवादमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट क्लिट चिट लिँदा पनि आयुक्तहरुका विरुद्धमा विभिन्न सूचना प्राप्त भएको भन्दै धम्कीको शैली प्रयोग गरेको ती आयुक्तहरु गुनासो गर्छन् ।

यस्तै उनले विमानस्थलदेखि बौद्धसम्मका प्रहरी एकाईमा काम गर्दा विवादास्पद व्यक्तिहरुसँग सम्पर्क बढाएको, पदीय दुरुपयोग गरी अथाह सम्पत्ति थुपारेको, सुन तस्करी प्रकरणका खोजी सूचीमा रहेका जीवन चलाउनेसँगको सम्बन्ध पनि विवादास्पद रहेको लगायतका आरोप छन् ।

त्यस्तै विभिन्न व्यापारिक घरानालाई मुद्दा चलाउने भनेर पक्राउ पुर्जी लिएको तर अनुसन्धान नै सही ढंगले अगाडि नबढाएको, देवानी प्रकृतिका मुद्दामा पनि हात हालेको र विभिन्न व्यवसायीलाई धम्की दिएको उजुरीमा छानबिन भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

रवि लामिछाने गृहमन्त्री हुँदा सेवा अवधिबारे हेरफेर गर्न अध्ययन कार्यदल नै बनाएका थिए । त्यो कार्यदल तिनै ज्ञवालीले बनाउन लगाएको र हालका महानिरीक्षक वसन्तबहादुर कुँवरपछि सेवाअवधि लम्ब्याएर आफै बन्न लागेको भन्ने बुझाइका आधारमा पनि प्रहरी मुख्यालयमा उनका विरुद्धमा माहोल बन्दै गएको थियो । प्रहरी प्रमुख कुँवर देशबाहिर भएका बेला भुटानी शरणार्थी काण्डका अभियुक्त बेचन झा पक्राउ परेपछि त्यस आशंकामा बल पुग्यो । र कुँवर फर्किनेबित्तिकै ज्ञवालीउपर छानबिन अघि बढाइयो ।

त्यसो त यसअघिकी सीआईबी प्रमुख किरण वज्राचार्यमाथि पनि छानबिन र कारबाही नभएको होइन । प्रत्येक सरकार फेरिएपिच्छे प्रहरीको एक उच्च व्यावसायिक एवं अनुसन्धानमा कहलिएको संस्थाका प्रमुखमाथि निशाना दाग्नु अवश्य पनि सुखद् अवस्था होइन । तर यो अवस्था आउनुमा बाह्य कारणभन्दा बढ्दा प्रहरी संगठनभित्रै हुर्किएको अस्वस्थ प्रतिस्पर्धा, भत्किँदै गएको चेन अफ कमान्ड र राजनीतिक ओत खोज्दै नेताका दैला चहार्ने प्रवृत्ति मुख्य देखिन्छ । ज्ञवालीले पनि लामिछानेलाई रिझाउने नाममा कतिपय लोकरिझ्याइँयुक्त क्रियाकलाप नगरी विशुद्ध व्यावसायिक रुपमा चलेको भएको जागिरे जीवनको अन्तिम घडीमा सायद यो अवस्था आउने थिएन कि ?