नेपाल टेलिकमले फाइभजी नेटवर्क परीक्षण थालेको डेढ वर्ष बितिसक्दा पनि नतिजा शून्य

 नेपाल टेलिकमले फाइभजी नेटवर्क परीक्षण थालेको डेढ वर्ष बितिसक्दा पनि नतिजा शून्य देखिएको छ । मोबाइल सेवाको पछिल्लो पुस्ताका रूपमा विभिन्न देशमा फाइभजी सेवा कार्यान्वयनमा आउँदा नेपालमा भने नाममात्रको परीक्षण भएको छ ।

टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारी २०७९ माघदेखि काठमाडौंमा फाइभजीको आन्तरिक परीक्षण थालेको थियो । यो अवधिमा बबरमहल, सुन्धारा, पोखरा र वीरगन्जमा रहेका टेलिकमका कार्यालयमा फाइभजी उपकरणहरू जडान गरी आन्तरिक परीक्षण गरिएको छ । तर परीक्षणका उपलब्धिलाई लिएर स्वयं टेलिकम नै सन्तुष्ट छैन । 

परीक्षणका लागि सुरुमा तम्सिएको टेलिकम अहिले उपकरण आयात तथा विभिन्न प्राविधिक चुनाैतीहरू, स्रोतको अभाव लगायतका विषय देखाउँदै परियोजना व्यवस्थापन गर्न असफल भएको छ । टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले पर्याप्त लगानी अभावमा परीक्षणले ठोस नतिजा दिन नसकेको स्वीकार गरे । “हामीले चार स्थानमा फाइभी परीक्षण गरेका छौं । देशका अन्य स्थानमा समेत परीक्षण गर्ने योजना भएपनि पर्याप्त लगानी गर्न नसक्दा नतिजा दिन नसकिएको हो,” उनले भने ।एक वर्ष कालका लागि परीक्षणको अनुमति पाएको टेलिकमले डेढ वर्ष बित्दासम्म समेत फाइभजी नेटवर्कको गति र विश्वसनीयताका सन्दर्भमा मुख खोलेकाे छैन । यही कारण फाइभजीको व्यावसायिक योजना समेत अन्योलपूर्ण बनेको छ । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा सर्वसाधारणले समेत निःशुल्क चलाउन पाउने गरी फाइभजी परीक्षण गर्न नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराएको थियो । तर टेलिकमले अहिलेसम्म सार्वजनिक परीक्षण नगरी सीमित बीटीएसबाट आन्तरिक किसिमको प्राविधिक परीक्षण गर्दै आएको छ, जसले गर्दा फाइभजी नेटवर्क विस्तारमा स्पष्ट खाका देखिएको छैन ।