विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने फोनहरूको सूचीमा सामसङ शीर्ष स्थानमा, दोस्रो स्थानमा एप्पल
२०२४ को दोस्रो त्रैमासिकमा अन्य ब्रान्डलाई पछि पार्दै सामसङ आफ्नो अग्रता कायम राख्न सफल भएको हो । क्यानलिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार स्मार्टफोन बिक्रीमा सन् २०२१ देखि नै सामसङ शीर्ष स्थानमा यथावत् छ । २०२४ को दोस्रो त्रैमासिकमा सामसङले विश्व बजारमा १८ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ । विभिन्न मूल्य रेन्जका फोन वितरण गर्ने सामसङको रणनीतिले यो सफलता दिलाएको विश्लेषण गरिएको छ ।
सामसङले अनुसन्धान र विकासमा ठूलो लगानी गरेको छ, जसका कारण डिस्प्ले, क्यामेरा, प्रोसेसर लगायतमा नवीनतम प्रविधिहरू उपलब्ध गराउन सक्षम भएको छ । पछिल्लो पटक ग्यालेक्सी एआई सार्वजनिक भएसँगै सामसङको चर्चा थप चुलिएको छ । सामसङको वितरण नेटवर्क र बिक्रीपछिको सेवा (ग्राहकलाई बिक्रीपछिको सहयोग)ले पनि सामसङप्रति ग्राहकको आकर्षण बढेको देखिन्छ ।
स्मार्टफोन बिक्रीमा दोस्रो स्थानमा रहेको एप्पलको बजार हिस्सा १६ प्रतिशत छ । एन्ड्रोइड फोनको सन्दर्भमा भने सामसङपछि साओमी छ, जसको बजार हिस्सा १५ प्रतिशत छ । चौथो स्थानमा ९ प्रतिशत हिस्सा सहित भिभो रहेको छ ।यस वर्षको दोस्रो त्रैमासिकमा विश्वबजारमा २८ करोड ८० लाख फोन बिक्री भएका छन्, जुन गत वर्षको सोही अवधिमा भन्दा १३ प्रतिशतले बढी हो ।
प्रतिक्रिया