ओली सरकारको डुंगा कति सुरक्षित छ ?
प्रधानमन्त्री केपी शर्मा ओली जतिपटक प्रधानमन्त्री भए, निकै शक्तिशाली धरातलमा भए ।
पहिलोपल्ट प्रधानमन्त्री हुँदा उनलाई देशभरिको समर्थन थियो । त्यतिखेर नेपालीहरुका पार्टी अलगअलग भए पनि नेता केपी शर्मा ओली नै थिए । आफ्नो जीवनकालमा, त्यो पनि सत्तामा जाँदा त्यो हदसम्मको समर्थन पाएका नेता सम्भवतः ओलीबाहेक अर्को भेटाउन मुस्किल छ ।
त्यसखबत उनले बलियो समर्थन पाउनुको कारण थियो, भारतीय नाकाबन्दीविरुद्धको चट्टानी अडान । अहिले पनि एउटा तप्काले ओलीलाई नै नेपालको सबैभन्दा राष्ट्रवादी नेता भनेर नै मान्छ । दोस्रोचोटि प्रधानमन्त्री हुँदा तिनै ओलीले लिपुलेक–लिम्पियाधुराको नक्सा संविधानमा राख्न पहलकदमी लिए । देशका सबै दलले त्यसमा समर्थन गरे । त्यसको जस अहिलेसम्मै ओली पाइरहेका छन् । गत आम निर्वाचनमा एमालेविरुद्ध ठूलै घेराबन्दी हुँदा पनि झण्डै देशको पहिलो दल बन्नुमा ओलीको त्यही छविले काम गरेको छ ।
यसरी ओलीले पाएको व्यापक जनसमर्थन जोकोही नेताका लागि लोभ लाग्ने पक्ष हो । एउटा कुनै समयमा कुनै नेताप्रति ठूलो जनमतले समर्थन गर्नु ठूलो कुरा होइन । तर, २०७२ देखि हालसम्मको करिब दशक अवधिसम्म एउटा नेताप्रति जनताको आशा र विश्वास अटल रहनु चानचुने कुरा होइन ।
अहिले त झन् ओलीलाई देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समर्थन गरेको छ । कांग्रेसको समर्थन पाएर एमालेको नेता प्रधानमन्त्री बन्न पाउनु अर्को दुर्लभ संयोग हो । देशका दुई ठूला शक्ति एक ठाउँमा भएर त्यसको नेतृत्वमा रहेर सरकार चलाउन पाउनु ओलीका निम्ति गज्जबको अवसर पनि हो ।
यति बलियो र शक्तिशाली प्रधानमन्त्री भएर उनले के काम गर्छन् भनेर अहिल्यै भन्न सकिने कुरा होइन । तर, उनको सफलता भने उनी कसरी चल्छन् भन्ने कुराले निर्धारित गर्नेछ । ओलीले अहिलेसम्म जेजति अवसर प्राप्त गरे, त्यस अवधिमा उनले जनताको जीवनस्तर परिवर्तन र राष्ट्रिय विश्वसनीयता कायम गर्न जति काम गर्न सक्थे, त्यो नगरेको भने तीतो यथार्थ नै हो ।
उनको सबैभन्दा ठूलो कमजोरी मुखाले स्वभाव हो । उनी सानो घेराबाट चल्छन् । आलोचना सहन सक्दैनन् । आलोचकको मुख थुन्न उनी आफै प्रतिवादमा उत्रिन्छन् । उनी आलोचक जमातको पनि प्रधानमन्त्री हुँ भन्ने बिर्सन्छन् । प्रामाणिकता नभएका बहकाउपूर्ण मान्यतालाई बोकेर हिँड्छन् र त्यसैलाई सत्यका रुपमा स्थापित गर्न जिद्दी गर्छन् । आफू पदमा पुगेपछि निश्चित व्यक्तिलाई मात्र अवसर दिन्छन् । एमाले पार्टी भनेको राष्ट्रिय पार्टी हो भन्ने याद गर्दैनन् । झापाली र बालकोटेहरुको प्राधिकारयुक्त संस्थाका रुपमा उनले व्यवहार गर्छन् ।
उनका यिनै कमजोरीका कारण पार्टी फट्यो । उनका यिनै कमजोरीका कारण यसअघिका सत्ता अनपेक्षित रुपमा गुमे । अहिले पनि उनको मुख्य चुनौती यही नै हो । यदि उनले केही उदात्तता देखाउने हो भने मात्र पनि धेरै नतिजामुखी काम गर्न सक्छन् ।
हामीलाई राजनीतिक मुद्दाका वरिपरि रिंगाएको धेरै भयो । अब हामीलाई आर्थिक एजेन्डामा काम गर्ने नेतृत्व चाहिएको छ । विकास र समृद्धिको सपना देखाउने होइन, विपनाको वाहक चाहिएको छ । सिंगापुर र स्विट्जरल्यान्डको प्रलोभन होइन, स्वदेशमै आशा जगाउने अक्किल चाहिएको छ ।
ओलीले यसपालि बडो चतुरतासाथ कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई परराष्ट्रमन्त्री बनाएका छन् । यो सरकारको शक्ति र कमजोरी जे भने पनि आरजु नै हुन् । आरजु एक सामान्य महिला नेतृ मात्र होइनन् । उनी काठमाडौँको एक सम्भ्रान्त र कुलीनवर्गकी प्रतिनिधि हुन् । जन्मिँदै उनको रगतमा राजनीति मिसिएर आएको छ । तसर्थ उनमा राजकाजको भोक र महत्त्वाकांक्षा कम छैन ।
आरजु संसारका जुनकुनै देशका शक्तिशाली नेता र तिनका प्रतिनिधिसँग शिर ठड्याएर आँखा जुधाएर अंग्रेजीमा कुरा गर्न सक्छिन् । अन्तर्राष्ट्रिय समुदायमा उनको आफ्नै सम्पर्क सञ्जाल पनि छ । शक्तिको सम्बन्ध पनि छ । तसर्थ उनले भारत वा चीनभन्दा पनि शक्तिशाली देशसँग कुरा गर्न सक्छिन् । शक्ति सन्तुलन मिलाउन सक्छिन् । तसर्थ, यो सरकारमा आरजुको उपस्थितिलाई लिएर त्यति आलोचना भएको छैन । नेपालका इलिटहरुले उनको उपस्थितिलाई मौन वैधता प्रदान गरेजस्तो देखिन्छ ।
आरजु नै सरकारमा छन् भने देउवाका लागि योभन्दा ढुक्कको विषय अर्को हुने छैन । जयवीरले पनि बाबुबाट जति सिक्नुपर्ने हो, सिकिसके । अब राजकाज सिक्नु छ त आमा आरजुबाट सिक्नु छ । तसर्थ, यो सरकार देउवा परिवारले चाहेको दिनसम्म टिक्छ । त्यसमा पनि आरजुले चाहेको दिनसम्म टिक्छ । आरजु यो सरकारमा बस्न चाहेसम्म देउवाले दायाँबायाँ गर्न सक्ने छैनन् । तसर्थ, यो सरकारको डुंगा अरुले सोचजस्तो ६ वा ९ महिनामै डुबिहाल्ने देखिँदैन । बरु आगामी केही महिनामा आरजुको दर्जा उपप्रधानमन्त्रीमा उकालेर भए पनि ओलीले सत्तारक्षा गर्नेछन् ।
प्रतिक्रिया