धुलिखेल-खावा सडकमा टिपर चलाउन रोक

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेल-खावा सडकमा टिपर चलाउन रोक लगाएको छ ।

प्रशासनले बुधबार सूचना जारी गर्दै बुधबारदेखि नै धुलिखेल-खावा सडकखण्डमा टिपर चलाउन रोक लगाएको हो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सूर्य प्रसाद सेढाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ …धुलिखेल-खावा सडक खण्डमा हालेको वर्षातले क्षति गरेको हुँदा मिति २०८१/३/२६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि ट्रिपर सञ्चालनमा रोक लगाई मर्मत कार्यमा सहजीकरण गरिदिन हुन अनुरोध छ।’अहिले खावा–धुलिखेल सडक पनि विस्तारको काम भइरहेको छ । सो खण्डको काम पनि सुस्त र भद्रगोल हुँदा यात्रुलाई सकस थपिएकाे छ ।

देशको मुख्य आर्थिक केन्द्र काठमाडौंमा खाद्यान्न, फलफूल, तरकारी लगायत दैनिक उपभोग्यदेखि वस्तुहरु आपूर्तिका लागि महत्वपूर्ण मानिने यो सडकखण्ड अलपत्र छाड्दा यसले बहुआयामिक असरहरु पर्ने देखिन्छ । सडकको दुरावस्थाले यात्रा समय लम्बिनेदेखि यात्रा लागत बढ्ने समस्या छ

सूर्यविनायक–धुलिखेल सडक अहिलेसम्म ७ मिटरको इन्टरमेडियट २ लेनमा सीमित छ । यसले गर्दा यात्रा समय बढेको, ढुवानी लागत महँगिएको र त्यसले औद्योगिक उत्पादनको लागतसहित उपभोक्ताको भान्सासम्म नकारात्मक असर पारेको निष्कर्षसहित फराकिलो बनाउने अवधारणा अघि सारिएको थियो । दैनिक हजारौं सवारी साधन आवातजावत गर्ने यो खण्ड ट्राफिक चापअनुसारको चुस्त, दुरुस्त र सहज नभएको भन्दै सरकारले आफ्नै लगानीमा चार लेनमा विस्तार गर्न थालेको थियो । तर, विस्तारको काममा भइरहेको बेवास्ताले समस्या थपेका छन् ।

भित्ताको माटो काट्ने, टेवा पर्खाल, क्रस ड्रेन र नाली बनाउने लगायतका काम भइरहँदा निर्माण साइट भने भद्रगोल छाडिएको छ । सडक दायाँ–बायाँ बनाउने काम गरे पनि गाडी गुड्ने लेन राम्रो बनाएर राख्न पर्याप्त चासो दिइएको छैन । स्थानीयहरुका अनुसार यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षाको समयमा यो सडक अति जीर्ण बन्ने चिन्ता उनीहरुको छ ।

सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सहज ढंगले गुड्न सबैजसो गाडीलाई मुस्किल हुन्छ । भत्काएर छाडेपछि यो खण्ड मालबाहक सवारीका लागि समेत झन् जोखिमपूर्ण बनेको छ । मालसामान बोकेर आएका सवारी सडकमा सुस्त गतिमा चल्छन् । राजधानी छिर्ने नाका भएकाले सडक ५ मिनेट बन्द हुँदा नै लामो जाम लाग्ने समस्या छ ।

हेर्नुहोस् काभ्रेपलाञ्चोक प्रशासन कार्यालयले जारी गरेको सूचना :