साउदीमा फाँसीको सजाय कुरेका एक नेपालीले उन्मुक्ति पाए,४६ लाख ‘ब्लड मनी’ लेनदेन

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको पहलमा साउदी अरबमा फाँसीको सजाय कुरेका एक नेपालीले उन्मुक्ति पाउने भएका छन् ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका धनुषाका रामआशिष यादव मृत्युदण्डबाट छुटकारा पाउने भएका हुन् । रामआशिषले सँगै एउटै कोठामा बस्ने रुपन्देहीको कञ्चन गाउँपालिका- ४ का दुर्गाप्रसाद शर्मालाई विवादको क्रममा छुरा प्रहार गरेका थिए । दुर्गाप्रसादको घटनास्थलमै मृत्यु भएको थियो । सोही हत्यामा रामआशिषलाई ५ वर्षको जेल सजाय तोकियो । ५ वर्षपछि दुवै जनाको परिवारको बीचमा ब्लड मनीमा सम्झौता नभए अन्तिम विकल्प फाँसीमा जाने अदालतको फैसला थियो ।

अदालतको निर्णय कन्सुलर विभाग हुँदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भयो । रुपन्देहीका सीडीओ गणेश अर्यालले रामआशिषलाई बचाउन सकिन्छ कि भनेर तदारुकता देखाए । रेनुकुमारीका मामा प्रभु यादव पनि भाञ्जा ज्वाइँ रामआशिषलाई माफीको आशासहित रुपन्देही आए । सीडीओ अर्याल र प्रभु मृतक दुर्गाप्रसाद शर्माकी श्रीमती सीता शर्मासित माफीको अपेक्षासहित घर पुगे । सुरुमा सीताले कुरै सुन्न चाहेनन् ।

 

पटक पटक अनुरोध गर्दा पनि ३ महिनासम्म कुरा मिल्न नसकेको सीडीओ अर्याल बताउँछन् । ‘शुरुमा उहाँले मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो’, उनले भने, ‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह गर्‍यौं, मैले व्यक्तिगत रुपमै धेरै अनुनयविनय गरें ।’

पछि कञ्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईंलगायतको लगातारको प्रयासपछि सीता ५० लाख रुपैयाँ ब्लड मनी लिएर माफी दिन तयार भएको सीडीओ अर्यालले बताए ।