कप्तान किरणले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिन मन्त्री श्रेष्ठलाई अनुरोध

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) सँग भेटेका छन्।

मन्त्री श्रेष्ठले किरणसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटेका हुन्। नेपालको लागि १००औं खेल खेल्ने पहिलो खेलाडी बनेका किरणलाई यो सफलताको लागि मन्त्री श्रेष्ठले बधाई दिए।भेटमा कप्तान किरणले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिन मन्त्री श्रेष्ठलाई अनुरोध गरे।

फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल साउदी अरेबियामा भएको थियो, जुन नेपालकै दशरथ रंगशालामा हुने तय भएको थियो। रंगशालाको खराब अवस्थाका कारण अन्तिम समयमा साउदीमा सारिएको थियो। 

साउदी अरबको दमाममा भएको अन्तिम खेलमा यमनविरुद्ध पहिलो रोजाइमा रहेर खेल्दा किरण एक सयौं खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए।साथै उनले मन्त्री श्रेष्ठसमक्ष खेल करिअरपश्चात् पनि खेलाडीलाई नेपालमै बस्ने वातावरण बन्नुपर्ने कुरामा पनि जोड दिए।मन्त्री श्रेष्ठले दशरथ रंगशालालाई व्यवस्थित बनाउन कार्यविधि नै तयार भएको जानकारी गराए।

लामो खेल करिअरमा पहिलोपटक मन्त्रीसँग भेटेर आफ्ना कुरा राख्न पाएकोमा किरणले खुशी व्यक्त गरे।