भौतिक पूर्वाधार मन्त्रालको बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै सांसद दिलेन्द्र बडूले प्रतिनिधि सभाको रोष्ट्रममै गरे मौनधारण

 नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको रोष्ट्रममै मौनधारण गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले संसदबाट पारित नेपालको नयाँ नक्साले समेटेको क्षेत्रका नागरिकहरु भारतको बाटो हुँदै आवत जावत गर्नुपर्ने बाध्यता सरकार र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले नबुझिदिएको गुनासो गरे ।

‘मन्त्रीजीलाई यो देशको भूगोलबारे जानकारी छ कि छैन भन्ने शंका लाग्यो । जहाँ एक ठाउँबाट अर्को ठाउँमा जान भारतको भूमि भएर जानुपर्छ’, सांसद बडूले भने ।भारतको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि २०७७ सालबाट तुसारपानी, कोशेधार तिंकर सडक निर्माण सुरु गरिएको उनले स्मरण गरे ।७९ किलोमिटरको सडकका लागि आफूले निकै मिहिनेत गरेको तर, भौतिक पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नसमेटेको भन्दै उनले रोष प्रकट गरे ।

यो सडकको विषयमा प्रधानमन्त्री, रक्षामन्त्री, भौतिक पूर्वाधारमन्त्री, अर्थमन्त्री र नेपाली सेनासमेतको उपस्थितिमा पाँच वर्षे योजना बनाउने र पाँच वर्षमा काम सक्ने गरी वजेट विनियोजन गर्ने सहमति भएको बताए ।यो सहमति अनुसार बजेट आउनुपर्नेमा योजना समेत नपरेको भन्दै उनले सरकारको आलोचना गरे ।यो सडकको सेवा प्राप्त गर्ने क्षेत्रलाई नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) मा समेट्नका लागि सबै सहमत भएको स्मरण गर्दै उनले भने, ‘यो राष्ट्रिय महत्वको विषय हो । यस्तो विषयमा सबै उभिऔं ।’यसका निम्ति सरकारको गम्भीर ध्यानाकर्षण गराउन उनले सभामुखसँग रुलिङको माग गरे । त्यसपछि पूर्वनिर्णय र सहमतिहरु लत्याइएको भन्दै उनले मौन धारण गरे ।

‘पूर्वनिर्णयहरु लत्याइयो । त्यो क्षेत्रका प्रति जुन उपेक्षा भयो र सुनुवाइ भएन । त्यसको विरुद्धमा र त्यसको विरोधमा जनताको तर्फबाट प्रतिनिधिको नाताले भन्दा सुनिएन । म केही नभनेर एक मिनेट मौन धारण गर्न चाहन्छु’ बडूले भने । एक मिनेट नबोलेरै रोष्ट्रममा उभिए ।