नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाकाे दरखास्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दरखास्त दिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले जेठ २२ गते प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। उक्त आवेदनको आज अन्तिम दिन मंगलवारसम्म १७ जनाको दरखास्त परेको सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको छ।मन्त्रालय स्रोतकाअनुसार दरखास्त दिनेमा अधिकांश टेलिकम भित्रकै कर्मचारीहरु छन भने केहि बाहिरबाट आवेदन परेको छ।

दरखास्त दिनेमा वर्तमान निमित्त एमडी संगीता पहाडी (अर्याल), डा. विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, बुद्धिप्रसाद आचार्य, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, चिन्तामणि बराल, शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली, कमल लामिछाने, सुवास साह, केदारनाथ कोइराला, रमेशप्रसाद जोशी, नागेन्द्रकुमार दास र अनिलकुमार झा रहेका छन्।

दरखास्त दिनेमध्ये ४ जना बाहेक सबैजसो नेपाल टेलिकमसँग आबद्ध रहेका कर्मचारीहरु रहेका छन्।सञ्चार मन्त्रालया प्रवक्ता अनिल ठाकुरले भने यस बारेमा केहि जानकारी नभएको बताए। “यो मेरो क्षेत्र अन्तरगत परेन र मलाई जानकारी पनि छैन्,” उनले भने।

दरखास्त दिएका मध्ये नेपाल टेलिकममै कार्यरत डा. विमल आचार्य र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक रहेका अनिल कुमार झा चर्चामा रहेका छन्।डा विमल आचार्य वर्तमान निमित्त एमडी पहाडीको सचिवालयमा कार्यरत रहेका छन् भने उनलाई सञ्चार मन्त्री निकट मानिएको छ।

यस्तै अनिल झालाई प्रधानमन्त्री निकट मानिएको र उनैको लागि नियुक्ति गर्ने कार्यबिधी नै संसोधन गरिएको चर्चामा रहेको छ।मन्त्रालय स्रोतकाअनुसार वर्तमान निमित्त एमडी पहाडीले कम्पनीभित्रै नेतृत्व देखाउन नसकेको र साना साना विषयमा पनि मन्त्रालय धाउने उनको कार्यशैलीले समस्या हुने हुँदा उनको विकल्पमा डा. आचार्यलाई हेरिएको छ।“उनी पछिल्लो समय सञ्चार मन्त्री निकट पनि छन र मन्त्रीले समेत रुचाएका व्यक्ति हुन्,” स्रोतले भन्यो।उता अर्को स्रोतले भने यसअघि नेपाल दूरसञ्चार प्राधिकरणमा सञ्चार मन्त्री निकट भुपेन्द्र भण्डारीलाई नियुक्त गरिएको हुँदा यस पटक प्रधानमन्त्रीले टेलिकममा झालाई नियुक्त गर्न जोड गरेका बताएको छ।

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल नेशनल पेमेन्ट गेटवेमा भ्रष्ट्राचार मुद्दामा दोषी ठहर भएसँगै टेलिकमको उक्त पद रिक्त रहेको थियो। तत्कालिन समयमा, पौडेललाई नियुक्त गर्दा पनि तत्कालिन सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की तथा तत्कालिन सञ्चार सचिव डा. बैकुण्ठ अर्यालले कार्यबिधि संसोधन गरेका थिए।पौडेललाई नियुक्त गरेपछि भएको चर्को विरोधको प्रतिवाद गर्दै तत्कालिन समयमा पूर्व सञ्चार मन्त्री कार्कीले उनि नियुक्तीका लागि सबैभन्दा उपयुक्त व्यक्ति भएको जिकिर गरेका थिए।सञ्चार मन्त्रालयले आजसम्म परेका दरखास्तहरुको प्रारम्भिक छानबिन गरेर भोली सूची सार्वजनिक गर्ने तयारी गरेको छ।