प्रदेशसभा सदस्यका उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेको दुःख व्यक्त

काठमाडौँ, ११ वैशाख : नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका बुवा चक्र भण्डारीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । 

    पार्टी महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गरी बुवा चक्र भण्डारीको निधनले  शोकमा पर्नुभएका दमन भण्डारी र सपरिवारमा गहिरो समवेदना व्यक्त गर्नु भएको हो ।  

    “यही वैशाख १५ गते प्रदेशसभा सदस्यका लागि बझाङ-१ मा हुन गइरहेको निर्वाचनमा उम्मेदवार रहनुभएका कमरेड दमनको निर्वाचन प्रचारको क्रममा बुवाको निधनबाट केही व्यवधान हुन गएको छ”, शोक वक्तव्यमा भनिएको छ, “यस विषम परिस्थितिमा चुनाव प्रचारप्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन सिङ्गो पार्टी पंक्तिलाई हार्दिक अनुरोध गर्दछु ।”

    बाजुरा जिल्ला कमिटीका अध्यक्षसमेत रहनु भएका भण्डारीका बुवा चक्र भण्डारीको आज बझाङको छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारी गाउँमा निधन भएको एमालेले जनाएको छ ।