सिद्धार्थ बैंकसहित तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एक वाणिज्य बैंक सहित तीन कम्पनीको ६ लाख २५ हजार ३३ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । सिद्धार्थ बैंक लिमिटेडको ५ लाख १० हजार ३०७ कित्ता, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ हजार २६० कित्ता र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९५ हजार ४६६ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।

यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सिद्धार्थ बैंकको शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा र किसान लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बुढानीलकण्ठ ,काठमाडौंमा आवेदन दिनुपर्नेछ ।  

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।