ट्रम्पविरूद्धको मुद्दामा सुनुवाई जारी रहँदा एक युवकले अदालत बाहिर गरे आत्मदाह

अमेरिकामा शुक्रबार म्यानहट्टन अदालत बाहिर रहेको एक पार्कमा एक युवकले आफ्नै शरीरमा ज्वलनशील पदार्थ छ्यापेर आगो लगाएका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको मुद्दामा सुनुवाई जारी रहँदा एक युवकले आफैंमाथि आगो लगाएका हुन्।

त्यसबाट गम्भीर घाइते भएका उनको शनिबार बिहान मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतक ३७ वर्षीय म्याक्सवेल अजारेल्लो रहेको पुष्टि भएको छ।

उक्त घटना ट्रम्पविरूद्ध पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन उनलाई पैसा दिएको मुद्दामा सुनुवाई सकिनुभन्दा केहीबेर अघि भएको थियो। घटना हुनुअघि ती पुरूष एक प्लकार्ड प्रदर्शन गरेका थिए। साथै उनले त्यहाँ उपस्थित रहेका पत्रकारतर्फ पर्चा फ्याँकेका थिए।

न्यू योर्क प्रहरीले उक्त घटना ट्रम्पलक्षित नरहेको बताएको छ साथै अदालतको सुरक्षाविपरीतका गतिविधि पनि नभएको बताए। ‘पर्चा फ्यांक्नेबित्तिकै उनले केही तरल पदार्थ र जिउमा छर्के र आगो लगाए। मानिसहरूले के भइरहेको छ भन्ने भेउ नपाउँदै उनी दनदनी बल्न थाले,’ एक महिलाले  बताएकी छन्। लगत्तै अदालत परिसरमा रहेका सुरक्षाकर्मीहरूले दौडेर घटनास्थल पुगेका थिए। म्याक्सवेलमाथि लागेको आगो निभाउने क्रममा तीन जना प्रहरी घाइते समेत भएका छन्।

उनी केही दिनअघि मात्रै फ्लोरिडाबाट न्यु योर्क आएका थिए। उनको कुनै आपराधिक पृष्ठभूमि पनि नभएको पनि न्युयोर्क प्रहरीलाई उद्धृत गर्दै  उल्लेख गरेको छ। फ्लोरिडामा उनको परिवार उनी फ्लोरिडाबाट न्युयोर्क गएको भन्नेबारेमा समेत अनभिज्ञ रहेको बताइएको छ।