‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ, ८ वैशाख : विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ । 

    दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट हुनुभएको हो । विश्वको खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ । 

    लामो दूरीको दौडतर्फ विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ । सो प्रतियोगितामा भाग लिन विश्वका ५० हजारभन्दा बढी युवा खेलाडी लण्डन पुगिसकेका नेपाली धावकका हजुरबुवा डा सुन्दरमणि दीक्षितले राससलाई जानकारी दिनुभयो । 

    बच्चैदेखि शारीरिक व्यायम र दौडमा रुचि राख्ने कुशलले भारतको नयाँ दिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालयको साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा कैयौँ पुरस्कार तथा पदक जितेका डा दीक्षितले जानकारी दिनुभयो ।    

    संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक कुशल म्याराथन प्रतियोगितामा भाग लिने सिलसिलामा अहिले लण्डन पुग्नुभएको छ ।