चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

 चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण सुरु गरिएको हो । 

गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा नौं कोठे विद्यालय भवनको शुक्रबार शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँको शैक्षिक उन्नयनका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यालयमा पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र कक्षा १० सम्मको स्वीकृतिको लागि प्रक्रिया प्रारम्भ भएको बताउनुभयो । 
कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन सय एक विद्यार्थी अध्यानरत छन् । विद्यालयका प्रधानाध्यापक दीपबहादुर गुरुङले विद्यालयको मुख्य भवन भत्काएपछि एउटा कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।

 “असहज हुँदा विद्यार्थीलाई बाहिर राखेर पढाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “भवन भत्काएपछि समस्या भएको छ ।” उहाँले कालिका नगरपालिका–१० बाट यहाँ चेपाङ बालबालिका अध्ययनका लागि आउने गरेको बताउनुभयो । “बालबालिकालाई डेढ÷दुई घण्टा हिँडेर विद्यालय आउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “यहाँ आवासीय विद्यालय बनाउन आवश्यक छ ।”

 यहाँ विद्यालय टाढा भएकै कारण कतिपय बालबालिकाले ५ कक्षा पढेर पढाइ छाड्ने गरेको उहाँले बताउनुभयो । कक्षा ८ उत्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत विद्यार्थीले पढाइ छाड्छन । “चेपाङ बस्तीमा यो समस्या विकराल छ”, प्रअ गुरुङले भन्नुभयो, “कक्षा ८ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी ९ कक्षा पढ्न शक्तिखोर र हात्तीवाङ जानुपर्ने बाध्यता छ ।” यहाँका विद्यार्थीलाई शक्तिखोर जान पाँच घण्टा र हात्तीवाङ तीन घण्टा लाग्छ ।

पालिकाको रु ४० लाख र सपना भिलेजको रु ४० लाख गरी रु ८० लाखको लगानीमा भवन निर्माणको काम सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । 
सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले विद्यायलमा ६ कक्षामाथिका बालबालिकालाई आवासीय सुविधा दिने योजनाका साथ भवन निर्माणको काम सुरु गरिएको बताउनुभयो । उहाँले यो वडामा रहेका सबै बालबालिकालाई सरकारले दिएको दिवा खाजाको बजेट थप गरेर पेटभरि दिवा खाजा खुवाउने योजना अघि बढाइएको जानकारी दिनुभयो । सरकारले दिवा खाजाका लागि प्रतिविद्यार्थी रु १५ दिँदै आएको छ ।