भारत सरकारको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

भारत सरकारको रु दुई करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका(६ स्थित हिमालय माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।

    व्याँस गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । 

    त्यसैगरी, ‘नेपाल(भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोड ३७ लाखमा निर्माण गरिएको दुहूँ गाउँपालिकास्थित जनविकास माविको विद्यालय भवनको दुहूँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव सोनाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

    ‘नेपाल(भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगले व्याँस गाउँपालिकाको  हिमालय माविलाई दुईतले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माण गरिनेछ ।

    त्यसैगरी, दुहूँ गाउँपालिकास्थित जनविकास माविको भवन निर्माण गरिएको दूतावासले जनाएको छ । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो । 

    हिमालय माविका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने जनविकास माविका  परियोजना कार्यान्वयन दुहूँ गाउँपालिकामार्फत गरिनेछ । 

    व्याँस गाउँपालिका र दुहूँ गाउँपालिकाका अध्यक्षले भारत सरकारको सहयोगको प्रशंसा गर्नुभएको छ ।   दार्चुलास्थित हिमालय मावि र जनविकास माविमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुने उहाँहरुले बताउनुभयो । 

    सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।